विभागीय टिम एपीएफ क्लब काठमाडौं मेयर्स कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
बिहीबार भएको लिग चरणको अन्तिम खेलमा काठमाडौं मेयर–११ लाई ७ विकेटले पराजित गर्दै एपीएफ उपाधि नजिक पुगेको हो। अब एपीएफले फाइनलमा अर्को विभागीय टिम नेपाल पुलिस क्लबसँग खेल्नेछ । फाइनल खेल शनिबार हुनेछ। मुलपानी क्रिकेट मैदान काठमाडौंले दिएको १ सय ७८ रनको लक्ष्य एपीएफले ४४ ओभर १ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले ४८ ओभर ५ बलमा अलआउट हुँदै १ सय ७८ रन बनाएको थियो।
यस्तै बिहीबार नै भएको अर्को खेलमा बागमतीले विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई १० रनले पराजित गर्यो। त्रिवि क्रिकेट मैदानमा बागमतीले दिएको २ सय ६७ रनको लक्ष्य पछ्याएको आर्मी ४७ ओभर १ अबलम अलआउट हुँदै २ सय ५६ रनमा समेटियो।
आर्मीका लागि कप्तान विनोद भण्डारीले १ सय १९ रनको शतकीय इनिङ्स खेलेपनि टिमलाई जित दिलाउन सकेनन्। यस अघि टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले ४९ ओभर ४ बलमा अलआउट हुँदै २ सय ६६ रन बनाएको थियो। यस जितसँगै बागमतीले प्रतियोगिताको सुखद अन्त्य गरेको छ। बागमतीले ४ खेलमा ४ अंक जोड्यो। बागमती तेस्रो स्थानमा रह्यो। आर्मीले ४ खेलमा २ अंक जोड्यो।