विभागीय टिम नेपाल पुलिस क्लबले पहिलो संस्करणको काठमाडौं मेयर कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ।
मुलपानी क्रिकेट मैदानमा शनिबार भएको खेलमा बागमती प्रदेशलाई २ रनले हराउँदै पुलिसले सुखद सुरुवात गरेको हो। रोमान्चक बनेको खेलमा पुलिसले दिएको ७३ रनको लक्ष्य पछ्याएको बागमती २७ ओभर २ बलमा अलआउट हुँदै ७० रनमा समेटियो। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले २५ ओभर २ बलमा अलआउट हुँदै ७२ रन बनाएको थियो। जितसँगै पुलिसले पहिलो खेलमा २ अंक जोडेको छ। बागमती प्रदेशले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ।
यस्तै, प्रतियोगिता अन्तर्गत शनिबार नै भएको अर्को खेलमा विभागीय टिम एपीएफ क्लबले विजयी सुरुवात गरेको छ। त्रिवि क्रिकेट मैदानमा शनिबार त्रिभुवन आर्मी क्लबलाई १ विकेटले पराजित गर्दै एपीएफले सुखद सुरुवात गरेको हो। आर्मीले दिएको २ सय ३६ रनको लक्ष्य एपीएफले ४९ ओभर ४ बलमा ९ विकेट गुमाएर पुरा गर्यो । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभरमा अलआउट हुँदै २ सय ३५ रन बनाएको थियो।
प्रतियोगितामा ५ टिमले प्रतिस्पर्धा गरिरहेका छन्। राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टिमले उपाधिको लागि खेल्नेछन्। प्रतियोगिताको विजेताले ५ लाख र उपविजेता टिमले ३ लाख पाउने छन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार प्राप्त गर्नेछ। उत्कृष्ट ब्याट्सम्यान र बलरले २५÷२५ हजार पाउने छन्।