नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वगोल रक्षक तथा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पूर्व महासचिव लोकबहादुर शाहीको निधन भएको छ ।
शाहीको ६५ वर्षको उमेरमा आइतबार राति निधन भएको हो । लामो समयदेखि विभिन्न रोगबाट पीडित शाहीको दैलेखको चौडत्तास्थित घरमा निधन भएको एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले जानकारी दिए ।
उनको आज दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । शाही सन् १९७९ देखि १९८९ सम्म राष्ट्रिय टोलीको गोल रक्षक रहेका थिए । सन् १९८४ मा नेपालमै आयोजना भएको पहिलो साफमा नेपालले स्वर्ण पदक जित्दा उनी टोलीको महत्वपूर्ण खेलाडी थिए ।
शाहीले चार पटक साफ खेल खेलेका थिए । सन् १९८२ मा नवौं एशियाली खेलकूद खेल्दा पनि उनी गोल रक्षक रहेका थिए । शाहीले सन् १९८९ मा राष्ट्रिय टोलीबाट सन्न्यास लिएका थिए । उनी २०५२ सालमा गणेश थापा एन्फाको अध्यक्ष हुँदा महासचिवमा निर्वाचित भएका थिए ।