आइसीसी विश्वकप क्रिकेट लिग दुई अन्तर्गतको त्रिकोणात्मक सिरिज आज सकिँदैछ । सिरिजको अन्तिम खेलमा नेपाल र अमेरिका भिड्दैछन् । नेपाल घरेलु मैदानमा सुखद अन्त्यको खोजीमा छ । जुनसकै खेलमा पनि दर्शकको स्थान महत्वपूर्ण हुन्छ । नेपालका क्रिकेट प्रशंसक विश्वमै परिचित छन् । अन्य देशका क्रिकेट खेलाडी यहाँका दर्शकबाट निकै प्रभावित हुँदै आएका छन् ।
उनीहरुले यहाँका दर्शकलाई जितमा मुख्य बाधकका रूपमा लिने गर्छन् । घरेलु मैदानमा लिग दुईको प्रारम्भ गरेको नेपाली क्रिकेट टोलीले आफ्ना दर्शकलाई निराश पारेको छ । अमेरिकासितको खेलमा नेपाली क्रिकेट खेलाडीको ध्यान उक्त कुरामा केन्द्रित हुनेछ । त्यसैले अमेरिकासितको आजको खेलमा विजयी हुँदै नेपाली क्रिकेट टोली घरेलु मैदानमा सुखद अन्त्यको खोजीमा छ । त्रिकोणात्मक सिरिजमा नेपाल ओमानसित निरीह बने पनि अमेरिकासितको खेलमा भने आफूलाई अब्बल सावित गर्न लालायित छ । नेपाल अमेरिकामाथि हावी छ ।
यसअघि पहिलो खेलमा नेपालले अमेरिकालाई ३५ रनले पराजित गरेको थियो । नेपालको ओपनिङ खासै जम्न सकेको छैन । ओमानसितको पहिलो खेलमा कप्तान ज्ञानेन्द्र मल्ल र पारस खड्काले ओपनिङ गरेका थिए । दुवै जनाबीच मात्र चार रनको साझेदारी भयो । यसले नेपालको ओपनिङको व्यापक आलोचना भएको थियो । ओमानसितको खेलमा शरद भेषवाकर घाइते बनेपछि सुवास खकुरेलले ओपनिङ गर्दै आएका छन् । उनलाई कप्तान ज्ञानेन्द्रले साथ दिइरहेका छन् । सुवासले पनि आशा गरेअनुरुपको ओपनिङ गर्न सकेका छैनन् । उनले अमेरिकासितको पहिलो खेलमा तीन रन बनाएका थिए । ओमानसितको दोस्रो खेलमा भने ब्याटिङमा सुधार गर्दै उनले २२ रन बनाए । सुवासको तुलनामा ज्ञानेन्द्रको ब्याटिङबाट नेपालले आस गर्ने ठाउँ छ । उनले अमेरिकासितको पहिलो खेलमा २१ रन बनाएका थिए भने ओमानसितको दोस्रो खेलमा ५६ रनको अर्धशतकीय पारी खेले ।
अमेरिकासितको अन्तिम खेलमा नेपालको ध्यान सुदृढ ओपनिङमा हुनेछ । ब्याटिङमा नेपाल अघिल्ला खेलहरुमा जस्तै ज्ञानेन्द्र, पारस खड्का दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, विनोद भण्डारी र आरिफ शेखमाथि निर्भर रहनेछ । नेपालका तर्फबाट शरद, ज्ञानेन्द्र, कुशल गौतम र विनोदले अर्धशतकीय पारी खेलेका छन् । यीमध्ये शरद चोटका कारण अहिले विश्राम गरिरहेका छन् । त्यसैले आजको खेलमा बाँकी तीनै जनामाथि नेपाल निर्भर रहनेछ । यसबाहेक ब्याटिङमा नेपालको ध्यान पारस, आरिफ र उपकप्तान दीपेन्द्रमाथि हुनेछ ।
दीपेन्द्र ओमानसितको पहिलो खेलमा मात्र चल्न सके । बाँकी दुई खेलमा उनी बिनारन पभेलियन फर्केका थिए । पारसले अमेरिकासितको पहिलो खेलमा १९ तथा ओमानसितको दोस्रो खेलमा ३८ रन बनाए । आरिफले ओमानसितको दोस्रो खेलमा मात्र २८ रन बनाउन सकेका थिए । अन्य खेलमा उनको ब्याटिङ राम्रो रहेन । नेपाली टोलीको ब्याटिङभन्दा पनि बलिङ नै राम्रो देखिन्छ । ओमानसितको दोस्रो खेलमा बलरले राम्रो प्रदर्शन गर्न सकेनन् । नेपाल उक्त खेलमा आठ विकेटले पराजित हुन पुग्यो । नेपालका लागि सन्दीप लामिछाने, करन केसी र सुशन भारी नै जितका मुख्य आधार हुन् । करनले हालसम्म तीन खेलमा आठ विकेट लिएका छन् । यस्तै सुशन भारीले सात विकेट तथा सन्दीपले दुई विकेट मात्र लिएका छन् । कुशल मल्ल पनि किफायती बलरका रूपमा देखिएका छन् । उनको ब्याटिङसँगै बलिङ पनि राम्रो छ ।