मछिन्द्र फुटबल क्लब सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ।
सातदोबाटोमा बिहिबार भएको खेलमा पुछारको क्लब सरस्वती युथ क्लबलाई ६–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै मछिन्द्र लिगको शीर्ष स्थानमा उक्लिएको हो।
एन्फा कम्प्लेक्समा मछिन्द्रको फराकिलो जितमा दिपक राईले दुई गोल गरे। यस्तै देवेन्द्र तामाङ, एडिलाजा सोमिडे, आन्द्रेस निया र विशाल राई ’ए’ ले एक एक गोल गरे। मछिन्द्रका काजिम बुसारीले एक गोल फर्काए। खेलको ४० औं मिनेटमा देवेन्द्रले गोल गर्दै मछिन्द्रलाई सुरुवाती अग्रता दिलाएका थिए। उनले रञ्जित धिमालको क्रसमा हेड गोल गरे।
पहिलो हाफमा १–० को अग्रता बनाएको मछिन्द्रले दोस्रो हाफमा भने लगातार गोल गर्यो। खेलको ५४ औं मिनेटमा दिपकले सरस्वतीका दुई डिफेन्डरलाई जिल्लाउदै गोल गर्दा मछिन्द्रलाई २–० ले अघि रह्यो। ५९ औं मिनेटमा विशालले गोल गर्दै मछिन्द्रलाई ३–० को अग्रता दिलाए। खेलको ७७ औं मिनेटमा दिपकले व्यक्तिगत दोस्रो गोल गर्दै मछिन्द्रलाई ४–० को अग्रता दिलाए। खेलको ८७ औं मिनेटमा सरस्वतीका काजिमले पेनाल्टीमा गोल गर्दै खेल ४–१ मा ल्याए।
तर, खेलको इन्जुरी समयमा सोमिडेले गोल गर्दै मछिन्द्रलाई ५–१ को अग्रता दिलाए। त्यसपछि खेलको अन्तिम केहि समय बाँकी रहदा आन्द्रेसले गोल गर्दै मछिन्द्र लाई ६–१ को फराकिलो जित दिलाए। जितसँगै मछिन्द्रले ११ खेलबाट २५ अंक जोडेको छ। र, मछिन्द्र त्रिभुवन आर्मी क्लबलाई २ अंकले पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो। एक खेल कम खेलेको आर्मीको २३ अंक रहेको छ। ११ खेलमा ४ अंक जोडेको सरस्वती पुछारमा यथावत रहको छ।