अखिल नेपाल फुटबल संघ (एन्फा)ले मनाङ मस्र्याङ्दी र मछिन्द्र क्लबका गरी ६ जना खेलाडीमाथि अनुशासनकाे कारवाही अघि बढाएकाे छ।
शहीद स्मारक ए डिभिजन लिग फुटबलकाे शीर्ष स्थानमा रहेका यी दुइ टीमबीच भएकाे खेलमा हात हालाहाल भएपछि एन्फाकाे अनुशासन कमिटीले दुबै टीमका केही खेलाडिलाइ कारबाही गर्ने निर्णय गरेकाे हाे। यी दुईबीचको खेल २–२ गोलको बराबरीमा सकिए लगत्तै खेलाडीहरु झडपमा उत्रिएका थिए।
उक्त दिनको घटनाको भिडियो फुटेजकाे अाधारमा अनुशासन कमिटीले मछिन्द्र र मनाङका तीन-तीन खेलाडीलाई कारबाही गर्ने निर्णय गरेको हो ।दुबै क्लवलाई एन्फाले ५०–५० हजार जरिवाना तिराउने निर्णय पनि गरेको छ।
मनाङका जगजीत श्रेष्ठलाइ १० हजार रुपैयाँ जरिवानासहित ५ खेल र अशोक बराललाई पनि ५ खेलको प्रतिबन्ध लगाइएकाे छ। रञ्जन विष्टसहित मछिन्द्रका दीपक राई, देवेन्द्र तामाङ र विजय धिमाललाई दुई-दुई खेलमा प्रतिबन्ध लगाइएको छ। साथै मनाङका किट्स म्यानेजर शिव लामालाई १० हजार रुपैयाँ जरिवाना लगाउँदै लिगका बाँकी खेलमा प्रतिबन्ध लगाएको छ।