शहीद स्मारक ए डिभिजन लिग फुटबलमा स्टार खेलाडीले भरिएको मछिन्द्र क्लब हारबाट जोगिएको छ ।
शुक्रबार सातदोबाटोस्थ्ति एन्फा कम्प्लेक्समा भएको खेलमा मछिन्द्रले च्यासल युथ क्लबसँग १–१ गोल बराबरी खेल्दै अंक बाँडेको हो । पहिलो हाफमा १–० गोलले पछि परेको मछिन्द्रका लागि खेलको ८८ औं मिनेटमा देबेन्द्र तामाङले गोल फर्काएका थिए । मछिन्द्रमाथि पहिलो हाफमा हावी भएको च्यासलका लागि अनुभवी खेलाडी सन्तोष साहुखलले गोल गरेका थिए । उनले खेलको २७ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
सन्तोष साहुखलले लिगमा योसहित तेस्रो गोल गरेका हुन् । बराबरीसँगै च्यासल लिगमा ४ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ भने मछिन्द्रले दुई खेलबाट ३ अंक जोडेको छ ।
यस्तै शुक्रबार नै भएको दोश्रो खेलमा ब्रिगेड ब्वाइज क्लबले फ्रेन्ड्स क्लबमाथि २–० को रोमाञ्चक जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा बिबिसीको जितमा रोशन रानामगर र जय गुरूङले एक एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ८७औं मिनेटमा जय गुरुङले गोल गर्दै बिबिसीलाई अग्रता दिलाए ।इन्ज्युरी समयको पहिलो मिनेटमा रोशन रानामगरको गोल मार्फत बिबिसीले २–० को जित दर्ता गर्याे ।बिबिसी पहिलो खेलमा मछिन्द्रसँग २–० ले पराजित भएको थियो । फ्रेन्ड्सको यो लगातार दोस्रो हार हो ।