दक्षिण एसियाली खेलकुद सागको पुरुष फुटबलमा नेपालले स्वर्ण जितेको छ । फाइनलमा भुटानलाई २-१ एकले हराउँदै नेपालले स्वर्ण जित्न सफल भएकाे हाे । लगातार दुई सागको स्वर्ण जितेको नेपालका लागि यो ऐतिहासिक सफलता हो ।
दशरथ रंगशालामा भएको खेलकाे १७ औं मिनेटमा नेपालले अग्रता बनाएकाे थियाे । नेपालका लागि अभिशेख रिजालले गोल गरेका हुन् ।
खेलको ३७ औं मिनेटमा भुटानले खेल बराबरी गर्न सफल भयो । भुटानका लागि कप्तान चेन्चो ग्याल्जेनले उत्कृष्ट गोल गरे ।त्यसपछि पनि भुटानले नेपालको पोष्टमा आक्रमण गरेको थियो भने उसले दुई पटक पाएको मौकामा असफल भयो । यता नेपालले पनि एउटा सुन्दर मौका पाएको थियो । तर अनन्त तामाङ चुक्न पुगे ।
पहिलो हाफ एक एक गोलको बराबरी भएको खेलको ५४ औं मिनेटमा सुनील बलले गोल गर्न सफल भए । जसका कारण नेपालले खेलमा फेरि अग्रता बनायो ।
त्यसपछि भुटानले खेलमा फर्कन सकेन र नेपालले स्वर्ण हात पार्यो । हार व्यहाेरेकाे भुटानले रजत जित्न सफल भयो । जारी सागमा भुटानको यो पहिलो रजत हो । यसका साथै पुरुष फुटबलमा भुटानले रजत जितेको पनि पहिलो पटक हो ।