राष्ट्रिय खेलकुद परिषद् (राखेप) तथा १३औं दक्षिण एसियाली खेलकुद (साग) मुल आयोजक कमिटीका सदस्यसचिव रमेशकुमार सिलवालले जारी साग आयोजनाबाट आफूले पूर्णरुपमा सन्तुष्टि प्राप्त गरेको बताएका छन् ।
सोमबार साँझ पत्रकार सम्मेलन गर्दै उनले साग आयोजनाबाट आफूले पूर्णरुपमा सन्तुष्टि प्राप्त गरेको भन्दै बाँकी मूल्याङ्कन गर्ने जिम्मा सञ्चारमाध्यमको भएको बताए ।
डिसेम्बर १ मा सुरु भएको १३औं सागको भोलि मंगलबार हुने समापन समारोहलाई पछिल्ला दिनभन्दा पनि व्यवस्थित बनाउने उनले बताए । त्यसका लागि उत्तरी प्यारापिटको १२ हजार सिटमध्ये ८ हजार तथा दक्षिणी प्यारापिटमा पनि २ हजार सिटमध्ये १ हजारमात्र टिकट बेचेको उनले बताए । समापनको दिन सबै दर्शकहरुले आर्मीको गेटबाट मात्र प्रवेश पाउने जानकारी गराउँदै उनले फुटबलका पूर्व राष्ट्रिय खेलाडी, अन्य खेलका अन्तर्रा्ष्ट्रिय पदकधारी खेलाडी, जारी सागका पदकधारी खेलाडी तथा प्रशिक्षकलगायनका लागि रंगशालामा सम्मानजनक प्रवेश तथा बसाइको व्यवस्था गरिने बताए ।
सदस्यसचिव सिलवालका अनुसार उदघाटन समारोहअघि ३ बजे नेपाल र भुटानका पुरुष टोलीबीचको फुटबल फाइनल हुनेछ। त्यसअघि दिउसो १२ बजे सांसद ११ र कर्मचारी ११बीच मैत्रीपूर्ण फुटबल खेलाइनेछ। फाइनल सकिएलगत्तै झण्डै डेढ घण्टाको समापन समारोह सुरु हुनेछ। प्रधानमन्त्री ओलीले बुधबार खेलकुदलाई मात्र समेटेर राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी रहेको पनि सदस्यसचिव सिलवालले जानकारी गराए ।