इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटी र चेल्सी विजयी भएका छन्। गएराति भएको खेलमा म्यान्चेस्टर सिटीले क्रिष्टल प्यालेसलाई २–० ले हरायो। सिटीका लागि ग्याब्रिएल जिसस र डेभिड सिल्भाले एक एक गोल गरे।
प्रिमियर लिगकै अर्को खेलमा चेल्सीले न्युकासल युनाईटेडलाई १–० ले पराजित गर्यो। आफ्नै मैदानमा सम्पन्न खेलमा चेल्सीलाई कठिन जित दिलाउन मार्कस अलन्सोले ७३ औं मिनेटमा निर्णायक गोल गरे।
गएराति भएका अन्य खेलहरुमा एभर्टनले वेष्ट ह्याम युनाईटेडलाई २–० ले हराउँदा लेष्टर सिटीले बर्नलेमाथि २–१ को जित निकाल्यो। यसैगरी एस्टन भिल्लाले ब्राईटनलाई २–१ ले पराजित गर्दा टोटनह्याम हट्सपर र वाट्फोर्ड तथा साउथह्याम्प्टन र वुल्भरह्याम्पटनले १–१ गोलको बराबरी खेले।
वर्नमाउथ र नरिच सिटीले गोलरहित बराबरीमा चित्त बुझाए। प्रिमियर लिग फुटबलमा आज राति शीर्ष स्थानको लिभरपुलले म्यान्चेस्टर युनाईटेडसँग खेल्नेछ। यो खेल म्यान्चेस्टर युनाईटेडको मैदानमा नेपाली समय अनुसार बेलुकी सवा ९ बजे सुरु हुनेछ।