जोर्डनमा जारी एएफसी यू–१६ च्याम्पियनसिप छनोटअन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपालले कुवेतसँग बराबरी खेलेको छ। जोर्डनको जार्का सिटीस्थित प्रिन्स मोहम्मद अन्तरराष्ट्रिय रङ्गशालामा आज विहान सिकएकाे खेलमा नेपालले कुवेतसँग १–१ गोलको बराबरी खेलेको हो।
नेपलाका लागि दिपेश राईले गोल गरे। उनले खेलको ७४औँ मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए। त्यस्तै कुवेतका अब्दुलवाहब अलहिन्दिले खेलको इन्जुरी समयमा पेनाल्टीमा गोल गर्दै खेललाई एक-एक गोलको बराबरीमा ल्याए।
यस बराबरीसँगै समूह ‘ए’ मा रहेको नेपालले दुई खेलमा एक अङ्क जोडेको छ। यसअघि पहिलो खेलमा नेपाल जोर्डनसँग ७–० ले पराजित भएको थियो। कुवेतले दुई खेलमा तीन अङ्क जोडेको छ। पहिलो खेलमा कुवेतले श्रीलङ्कालाई हराएको थियो।
अब नेपालले तेस्रो खेल असोज ३ गते ताजकिस्तानसँग खेल्नेछ। प्रतियोगितामा विभिन्न ४८ राष्ट्रले भाग लिएका छन्। जसलाई ११ समूहमा विभाजन गरिएको छ। समूहमा शीर्ष हुने टोली सन् २०२० मा आयोजना हुने एएफसी च्याम्पियनसिपका लागि छनोट हुनेछ। त्यस्तै उत्कृष्ट चार उपविजेताले पनि अन्तिम प्रतियोगिताका लागि अवसर पाउनेछ।