किर्गिस्तानमा हुने नादेज्दा कप महिला फुटबल प्रतियोगितामा सहभागिता जनाउन नेपाली महिला फुटबल टिम आज त्यसतर्फ प्रस्थान गरेको छ।
सेप्टेम्बर आठ ताखिरदेखि हुने प्रतियोगिताका लागि नेपाली टिमलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले एन्फा भवन सातदोवाटोमा विदाई गरेका थिए।
प्रतियोगिता सेप्टेम्बर ८ देखि १२ तारिखसम्म किर्गिस्तानमा आयोजना हुने छ। जसमा नेपालसहित घरेलु टोली कीर्गिस्तान, उज्वेकिस्तान र ताजकिस्तानले प्रतिस्पर्धा गर्ने छन्।
नेपालले पहिलो खेलमा सेप्टेम्बर ८ तारिखमा घरेलु टोली कीर्गिस्तानसँग खेल्ने छ। यस्तै ९ तारिखमा उज्वेकिस्तान र १० तारिखमा ताजकिस्तानसँग खेल्ने छ।
समूह चरणको अंकका आधारमा शीर्ष २ टीमले उपाधिका लागि प्रतिस्पर्धा गर्दा पुछारका दुई टिमले तेस्रो र चौथो स्थानका लागि भिड्ने छन्।
किर्गिस्तानमा हुन लागेको नादेज्दा कप नेपालमै आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद सागको तयारीका रुपमा पनि लिइएको छ। साग तयारीका लागि नेपाली महिला फुटबल टिमका मुख्य प्रशिक्षक हरि खड्काले ३२ जनाको सूची सार्वजनिक गरेका थिए।
नादेज्दा कपमा गरेको प्रदर्शनका आधारमा अन्तिम २३ खेलाडीको सूची सार्वजनिक गर्ने प्रशिक्षक खड्काले बताइसकेका छन्।
नेपाली खेलाडीहरु
गोलकिपरमा अन्जली तुम्बापो सुब्बा, अन्जना रानामगर, उसानाथ र रविता राई, डिफेन्डरमा हिराकुमारी भुजेल, गिता राना, मनमाया लिम्बू, निशा थोकर, पुनम जर्घामगर, विमला विक, पुजा रानामगर, रोजिना श्रेष्ठ, घिमकुमारी गुरुङ, अमृता जैसी र कविता धिमाल रहेका छन्।
मिडफिल्डरमा मन्जली कुमारी योञ्जन, रेणुका नगरकोटी, अनिता बस्नेत, इन्दिरा राई, विमला चौधरी, दीपा राई, सपना लामा, शर्मिला थापा, सविता रानामगर, प्रिती राई, सरु लिम्बू छन्।
फरवार्डमा सावित्रा भण्डारी (साम्बा), अनिता केसी, रेखा पौडेल, निरु थापा, कृष्णा खत्री, रश्मिकुमार घिसिङ छन्।