सातौं विश्व जुनियर पौडी प्रतियोगितामा सहभागी हुन ८ खेलाडीसहित १० सदस्यीय नेपाली टोली हंगेरीको बुडापेस्ट प्रस्थान गरेको छ ।
अगष्ट २० देखि २५ तारिखसम्म हुने प्रतियोगितामा समान ४–४ पुरुष/महिला खेलाडीले नेपालको चुनौति प्रस्तुत गर्ने छन् । प्रतियोगितामा सहभागी हुने पुरुष पौडीबाजहरुमा सैयद हम्जा शाह, गौरव लामा, वैदज्ञराज जोशी र विकास कुमाल रहेका छन् ।
महिलातर्फ टीसा शाक्य, अदिप्सा वैद्य, युस्का महर्जन र अनुष्का पोख्रेलले सहभागिता जनाउने छन् । प्रशिक्षकमा ईश्वर कार्की तथा टिम व्यवस्थापकमा वैभव पौडेल छन् । सहभागीहरु मध्ये विद्या संस्कार (चेल्सी) स्कुलमा अध्ययनरत अदिप्सा वैद्यलाई अत्यन्त प्रतिभाशाली खेलाडीको रुपमा हेरिएको छ ।
विद्यालय स्तरीय प्रतियोगितामा थुप्रै उपाधि हात पारेकी वैद्यलाई भविष्यको स्टार पौडीबाजको रुपमा लिन सकिन्छ । नेपाल पौडी संघले केही समय अघि प्रशिक्षणका लागि खेलाडीहरुलाई जापान पनि पठाएको थियो । नेपालमा केही महिना पछि नै दक्षिण एशियाली खेलकूद हुन लागेको अवस्थामा खेलाडीहरुले यस्तो मौका पाउनु अत्यन्त सकारात्मक पक्ष भएको खेल विज्ञहरु बताउँछन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाल, नेपाल पौडी संघका अध्यक्ष अशोक वज्राचार्य, महासचिव जगतमान श्रेष्ठलगायतले एक कार्यक्रमबीच बिदाइ गरे ।