आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंका विजयी भएको छ। वर्षाले प्रभावित खेलमा श्रीलंकाले अफगानिस्तानलाई ३४ रनले पराजित गरेको हो।
१८७ रनको विजयी लक्ष्य लिएर जवाफी ब्याटिङ गरेको अफगानिस्तानलाई ३२.४ ओभरमा १५२ रनमा समेट्दै श्रीलंकाले जित निकालेको हो। श्रीलंकालाई विजयी बनाउन नुवान प्रदीपले उत्कृष्ट बलिङ प्रदर्शन गरे। ८ ओभर बलिङ गरेका उनले २८ रन खर्चिएर ४ विकेट लिए। यस्तै लासिथ मालिंगाले पनि ३ लिए।
यसअघि ३३ ओभरमा श्रीलंकाले ८ विकेटको क्षतिमा १८२ रन बनाएर खेल्दै गर्दा कार्डिफमा पानी पर्न सुरु भएको थियो। लगातारको वर्षापछि करिव तीन घण्टा रोकिएको खेल ४१ ओभरमा छोट्याइएको थियो। श्रीलंकाले ३६.५ ओभरमा सबै विकेट गुमाएर २०१ रनको योगफल खडा गरेको थियो। ४१ ओभरमा छोट्याइएको खेलमा अफगानिस्तानले डकवर्थ लेभिस नियमअनुसार १८७ रनको नयाँ लक्ष्य पाएको थियो।
अफगानिस्तानको पालीमा नाजिबुल्ला जाडरनले ४३, हजरातौल्लाह जाजईले ३०, कप्तान गुलबदिन नाइबले २३ र मोहमद नाबीले ११ रन बनाए। श्रीलंकाका इसुरु उदाना र थिसारा परेराले एकएक विकेट हात पारे।
यसअघि सोफया गार्डेन्समा अफगानिस्तानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको श्रीलंकाले उत्कृष्ट सुरुवात गरेको थियो। कप्तान दिमुथ करुणारत्ने र कुसल परेराले पहिलो विकेटका लागि ९२ रनको साझेदारी गरेका थिए। दुवै खेलाडीले आक्रामक रुपमा ब्याटिङ गर्दा श्रीलंकाले प्रतिओभर १० रनभन्दामाथिको रनरेटमा रन बनाएको थियो।
१३.१ ओभरमा कप्तान करुणारत्ने मोहमद नाबीको बलमा आउट भए। त्यसपछि ब्याटिङमा आएका लाहिरु थिरमाने र कुसल परेराले दोस्रो विकेटका लागि ५२ रनको साझेदारी गर्दै २१.१ ओभरमा १४४ रन बनाएका थिए। २१.२ ओभरमा नाबीको बलमा थिरमाने बोल्ड भएपछि उच्च स्कारेतर्फ लम्किएको श्रीलंकाको दशा सुरुभयो यसै ओभरमा नाबीले लगातार ३ विकेट लिए। थिरमानेपछि क्रिजमा आएका कुशल मेन्डिस २ र एन्जेलो म्याथुज शून्य रनमै आउट भए।
त्यसपछि श्रीलंकाले लगातार विकेट गुमाएको थियो। करुणारत्नेले ३० रन बनाए। यसैगरी कुसल परेराले ७८ रनको पाली खेले। लामो समय क्रिजमा टिकेका उनले ८१ बलमा आठ चौका हिर्काए। यस्तै लाहिरु थिरिमानेले २५, सुरंगा लकमलले १५ र इसुरु उदानाले १० रन बनाए।
अफगानिस्तानका मोहमद नाबीले चार विकेट लिए। यसैगरी दौलत जाडरन र रासिद खानले दुई-दुई विकेट लिए। हमिद हसनले पनि एक विकेट हात पारे।
सुरुमा आक्रामक ब्याटिङ गरी श्रीलंकामाथि सहजै जित निकाल्ने संकेत देखाएको थियो। अफगानिस्तानको पहिलो विकेट लिएपछि श्रीलंका खेलमा फर्किएको हो। त्यपिछि अफगानिस्तानका ब्याट्सम्यानले खुलेर ब्याटिङ गर्न सकेनन्।
श्रीलंका यसअघि न्युजिल्यान्ड र अफगानिस्तान अस्ट्रेलियासँग पराजित भएको थियो।