प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेटअन्तर्गत मंगलबार भएको खेलमा त्रिभुवन आर्मी क्लब र प्रदेश ३ बिजयी भएका छन् ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्ल रहेको प्रदेश ३ ले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटमा लगातार दोस्रो जित दर्ता गर्यो । गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गर्दै प्रदेश ३ ले दोस्रो जित निकालेको हो । गण्डकी प्रदेशले दिएको १०९ रनको सामान्य लक्ष्य प्रदेश ३ ले २२ ओभर २ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो । प्रदेश ३ लाई जित दिलाउन आदील खानले अविजित ३८ रन जोडे । यस्तै इशान पाण्डेले अविजित २६ तथा रित गौतमले २० रन बनाए । गण्डकीका किशोर महतोले २ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले ३० ओभर १ बलमा अलआउट हुँदै १०८ रन बनाएको थियो । गण्डकीका लागि सुमा घिमिरेले ३४ तथा आकाश थापाले २४ रन जोडे ।
प्रदेश ३ का लागि कप्तान पारस खड्का र सुर्य तामाङले ४–४ विकेट लिए । नन्दनकुमार यादबले २ विकेट लिए । जितसंगै समूह ’ए’ को प्रदेश ३ ले ३ खेलबाट ४ अंक जोडेको छ । अंकविहीन गण्डकी चौंथो स्थानमा छ । यस्तै मुलपानी क्रिकेट मैदानमा विभागीय टिम त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेटमा लगातार तेस्रो जित निकाल्न सफल भयो । कर्णाली प्रदेशलाई ११७ रनको फराकिलो गर्दै आर्मीले लगातार तेस्रो जित निकालेको हो । मुलपानी क्रिकेट मैदानमा आर्मीले दिएको २९१ रनको फराकिलो लक्ष्य पछ्याएको कर्णाली ३५ ओभर १ बलमा अलआउट हुँदै १७३ रनमा समेटियो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभर खेल्दै ९ विकेट गुमाएर २९० रन बनाएको थियो ।
जितसंगै आर्मी सेमिफाइनल नजिक पुगेको छ । समूह ’बी’ को शीर्ष स्थानमा रहेको आर्मीले ३ खेलबाट ६ अंक जोडेको छ ।