तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता जेठ १० गतेबाट सुरु हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद राखेपले शनिबार पत्रकार सम्मेलन गर्दै नेपालय इन्टरनेशनलको व्यवस्थापनमा जेठ १० गतेबाट २५ गतेसम्म प्रतियोगिता हुने जनाएको छ ।
टियु क्रिकेट मैदान र मुलपानी अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा हुने प्रतियोगिता यसअघि जेठ ८ गतेबाट सुरु हुने बताईएको थियो । तीन विभागीय र सात प्रदेश सहित १० टोली सहभागी हुने टिमलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूहका शीर्ष दुई टिमले सेमिफाईनलमा स्थान बनाउनेछन् । प्रतियोगिताको पहिलो दिन टियुमा त्रिभुवन आर्मी र प्रदेश नम्बर २ र मुलपानीमा नेपाल पुलिस र प्रदेश १ बीच खेल हुने छ ।
पत्रकार सम्मेलनमा प्रतियोगिताको जर्सी समेत सार्वजनिक गरिएको छ । सहभागी टोलीका कप्तानहरुले जर्सी सार्वजनिक गरे । प्रतियोगिताको विजेताले २० लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ । उत्कृष्ट खेलाडीलाई मोटरसाईकल प्रदान गरिने छ ।
पत्रकार सम्मेलनमा राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले नेपालमा आन्तरिक खेल धेरै हुँदा क्रिकेटका खेलाडीलाई पनि फाइदा हुने र खेलको पनि बिकास हुने बताए ।