डडेल्धुराको आलिताल गाउँपालिका–८ गोदाममा भएको आगलागीमा परी एक बालिकाको मृत्यु भएको छ। अर्की एक बालिका गम्भीर घाइते भएकी छिन्।
गएराति करीब ८ बजे गोदाम बजारस्थित उत्तम थापाको किराना पसलमा आगलागी हुँदा थापाकी आठ वर्षीया छोरी आरतीको मृत्यु भएको हाे। थापाकी जेठी छोरी ११ वर्षीया निरुता गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
गम्भीर घाइते निरुतालाई थप उपचारका लागि काठमाडौँ लगिएको आलिताल गाउँपालिकाका अध्यक्ष बलबहादुर गुरुङले जानकारी दिए। उत्तम थापाको किराना पसलबाट शुरु भएको आगलागीबाट सँगैका रामबहादुर धामी, दिलबहादुर रानाको घरमा पनि आंशिक क्षति भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए।
आगो कसरी लाग्यो भन्ने कुरा खुल्न सकेको छैन।