मकवानपुरको हेटौँडा उपमहानगरपालिका ११ नवलपुरमा देउसी भैलो हेर्न जाने समूहबीच भएको झडपमा एकजनाको मृत्यु भएको छ।
बिहिबार बिहान भएको झडपमा एकजनाको ज्यान गएपछि सातजनालाई प्रहरीले पक्राउ गरी सार्बजनिक गरेको छ।
नवलपुरस्थित झोलुंगे पुल देउसीभैलो हेर्न गएको समूहबीच झडपका क्रममा भएको कुटपिटबाट नवलपुरकै ४७ बर्षीय रमेश रानाको मृत्यु भएको हो। मादक पदार्थ सेवन गरी झगडा भएको थाहा पाउनासाथ गएको प्रहरी टोलीले उद्धार गरी ल्याएका रानाको २ः३० बजे चुरेहिल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
घाइते अर्का युवक रञ्जित श्रेष्ठको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ। घटनापछि फरार रहेका ७ जना युवकलाई लुकेर बसेको अबस्थामा प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकाहरुमा सुरेश श्रेष्ठ, सौरभ अर्याल, लुंग्वा भनिने अमूल लामा, लुंग्वा भनिने अमृत लामा, कत्ले भतिज भनिने रुपेश चुनी मगर र नुवाकोट घर भई नवलपुर डेरा गरी बस्ने घनटाउके भनिने सुजेन लामा रहेका छन्।
घटनाबारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता डिएसपी नरेशकुमार सिंहले बताए। प्रशासनले १० बजेपछि देउसीभैलो नखेल्न आग्रह गरेपनि ग्रामीण क्षेत्रहरुमा रातको समयमा पनि देउसीभैलो र सांस्कृतिक कार्यक्रमहरु भइरहेका छन्।