नेपालमा हिउँद सकिएर हालै मात्र प्रिमनसुनको अवधि सुरु भएको छ । आँकलन गरिएभन्दा कम चिसो र कम पानी परेर यसपालीको हिउँद सकिएको हो ।हिउँद सकिएर प्रिमनसुनको अवधि यही शुक्रबारदेखि सुरु भए पनि प्रिमनसुन सक्रिय हुन भने केही दिन लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
मुख्यगरी पश्चिमी वायु र अरेवियन सागरको जलवाष्पयुक्त हावाका कारणले अहिले मौसममा बदली आएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिए । दिउँसाे लुम्बिनी, बागमती, गण्डकी, कणाली प्रदेशमा बढी वर्षा भएकाे छ । काठमाडौँमा आज बिहानैदेखि हल्का वर्षा भइरहेको छ ।
गत मङ्सिर १६ गतेदेखि फागुन १७ गतेसम्मको अवधि यस वर्षको हिउँदको समय थियो । हिउँदले बिदा लिए पनि अझै पश्चिमी वायुको प्रभाव बाँकी नै रहेको महाशाखाले जनाएको छ ।