जिल्ला कारागार कार्यालय चितवनमा रहेका एक सय ११ कैदीबन्दी बिरामी परेका छन् । उनीहरु विभिन्न रोगबाट पीडित छन् । एक सय ११ मध्ये आधाभन्दा बढी कैदीबन्दी उच्च रक्तचापबाट पीडित छन् । अन्य जिल्लाबाट उपचारका लागि कैदीबन्दी चितवन पठाउने गरिएको कार्यालय प्रमुख कमलप्रसाद आचार्यले जानकारी दिए ।
कार्यालय प्रमुख आचार्यका अनुसार अहिले कारागारमा मधुमेहका २६, थाइराइडका तीन, मुटुरोगी चार, एचआइभी सङ्क्रमित चार, छारेरोगबाट पीडित चार, मानसिक रोगी पाँच, हेपाटाइटिसबाट पीडित तीन तथा अन्य रोगबाट पीडित कैदीबन्दी रहेका छन् ।
अहिले कारागारमा क्षमताभन्दा झण्डै दुई सय बढी कैदीबन्दी राखिएको छ । कारागारमा चार सय ७५ पुरुष कैदीबन्दी राख्ने क्षमता रहेको भए पनि छ सय ७२, ३० कैदीबन्दी राख्ने क्षमता भएकामा ४१ तथा चार आश्रित बालबालिका गरी सात सय १७ कैदीबन्दी रहेका कार्यालय प्रमुख आचार्यले जानकारी दिए ।