प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने यमपञ्चक अर्थात् तिहारको पहिलो दिन काग तिहारको अवसरमा काग सम्मेलन गरिएको छ ।
एक सय ७३ जीवजनावर तथा चराचुरुङ्गीको आवाज निकाल्ने कलाकार रमेश दुलाल ‘कागे’ले आज काठमाडौँको शान्ति बाटिकामा आयोजित पत्रकार सम्मेलनमा कागको आवाज निकालेर काग बोलाउँदै ‘बीसौँ काग सम्मेलन’ सम्पन्न गरे ।
कलाकार दुलाले १९ वर्षदेखि यसरी नै काग सम्मेलन गरिरहेको जानकारी दिए। उनले भने, “विशेषगरी तिहारको परम्परालाई जोगाइराखौँ र सकारात्मक सन्देश प्रवाह गरौँ भन्ने उद्देश्यले हरेक वर्ष काग सम्मेलन गरिरहेको छु ।
यसलाई आउँदो वर्षमा पनि निरन्तरता दिनेछु ।” बिहान गरिएको सम्मेलनमा करिब ४० मिनेटसम्म उनले बोलाएको काग एकै ठाउँमा झुम्मिएका थिए । यद्यपि अघिल्ला वर्षहरूमा जस्तो कागको सङ्ख्या नरहेको कलाकार दुलालले बताए । उनले सम्मेलनको सुरुवात पश्चिम धनगढीबाट सुरु गरेका थिए । दाङ र इलाममा केही वर्ष काग सम्मेलन गरेपछि काठमाडौँमा गर्न थालिएको उनले जानकारी दिए ।