मुगुको छायानाथ रारा नगरपालिका–६ मुन्दुका एकै परिवारका चार जनाको हत्या आफन्तबाटै भएको खुल्न आएको छ । हत्या भएको १० दिनपछि १८ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले मुगु सामूहिक हत्याको अनुसन्धानको जिम्मा लिएको थियो । टोलीले घटनामा संलग्न आरोपमा दुई जनालाई पक्राउ गरेको थियो । दुवैलाई आज प्रहरीले पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको छ ।
हत्या आरोपमा पक्राउ परेका छायानाथ रारा नगरपालिका–७ पिना गाउँ घर भई हाल बाँके बैजनाथ गाउँपालिका–१ चिसापानी बस्ने ३१ वर्षीय काले भन्ने गोर्खराज शाही र मुगुकै मृतककै गाउँका ३१ वर्षीय गोपालबहादुर बोहरालाई प्रहरीले सार्वजनिक गरेको हो । हत्यापछि भागेका गोर्खराजलाई सीआईबीको टोलीले यही कात्तिक २० गते सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–५ पञ्चकोशी टोलबाट पक्राउ गरेको थियो ।
उनी समातिएपछि हत्यामा गोपालको पनि संलग्नता खुलेको प्रहरीको दाबी छ । गोपाललाई गोर्खबहादुर पक्राउ परेको भोलिपल्ट कात्तिक २१ गते मुगुको गमगढी वडा नं २ बाट प्रहरीले पक्राउ गरेको थियो । यही कात्तिक ८ गते राति मुन्दुका २८ वर्षीया श्रीदेवी बोहरा, उनका ११ वर्षका छोरा मनोज बोहोरा, सात वर्षकी छोरी अप्सरा बोहोरा र पाँच महिनाका छोरा रहर बोहोराको घरभित्रै हत्या भएको थियो ।
हत्या आरोपित गोर्खबहादुर श्रीदेवीका काका र गोपाल भाइ नाता पर्छन् । श्रीदेवी गोर्खराजको दिदी–सासूकी छोरी हुन् भने गोपाल मामाका छोरा भएको पत्रकार सम्मेलनमा बताइएको छ । घरमा दसैँ मनाएर ७ गते टीका थाप्न माइत गाउँ कोटिल्ला गएकी श्रीदेवी छोराछोरीसहित ८ गते बेलुका घर फर्किएकै दिन राति धारिलो हतियार प्रहार गरी उनीहरूको हत्या भएको थियो ।
हत्याका आरोपी गोपालले कतारमा वैदेशिक रोजगारीमा रहेका मृतक श्रीदेवीका श्रीमान् दीपक बोहोरालाई भिसा लगाइदिन दुई वर्षअघि आग्रह गरेका थिए । दीपकले भिसा मिलाउन नसकिने जवाफ दिएका थिए । त्यही भिसा नमिलाई दिएको कारण रिस साँधेको प्रहरीले बताएको छ । उनीहरूले सुरुमा लुटपाटको योजना बनाएको र पछि परिवार नै सखाप पारेर हत्या गरेको प्रारम्भिक सोधपुछबाट खुलेको छ ।
हत्यापछि उनीहरूले मृतकले कानमा लगाएका साढे दुई तोलाका सुनका रिङ, २५ लालको तिलहरि लुटी लिएर फरार भएका थिए । प्रहरीका अनुसार घटनापछि उनीहरू शव घरभित्रै छाडेर बाहिरबाट ढोकामा ताला लगाई हिँडेका थिए । गोपाल बोहोरा त्यसपछि पनि गाउँमै बसेको र गोर्खबहादुर भने सुर्खेततर्फ फरार भएका थिए ।