जाजरकोट आसपासलाई केन्द्र बनाएर मध्यराती गएको ६.४ म्याग्निच्युडको भुकम्पमा परी हालसम्म करिब १ सय २८ जना भन्दा बढीकाे मृत्यु भएको छ। भूकम्पका कारण जाजरकोटमा ९२ जनाको मृत्यु भएको छ भने ७० जना घाइते भएका छन् ।
यस्तै रुकुम पश्चिममा भूकम्पबाट ३६ जनाको मृत्यु भएको छ भने ८५ जना घाइते भएका छन् ।भूकम्पबाट हालसम्म दुवै जिल्लामा एक सय ५५ जना घाइते भएका छन् ।सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयका प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाका अनुसार भूकम्प प्रभावितको उद्धारमा जाजरकोटस्थित आश्रिम गुल्मबाट सशस्त्र प्रहरी नायव उपरीक्षक विकाश थापाको नेतृत्वमा ६७ जनाको टोली खटिएको छ ।
नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहको पनि मृत्यु भएको छ।जाजरकोटको रामिडाँडा आसपास केन्द्रविन्दु बनाएर ११ बजेर ४७ मिनेटमा ६ दशमलब ४ म्याग्निच्युडको भूकम्प गएको थियो। जमिनको सतहबाट करिब १० देखि १२ किलोमिटर मुनि भूकम्पको केन्द्र रहेको थियो।