नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले जनकपुरदेखि अयोध्यासम्म सिधा हवाई सेवा शुरु गरेर जनकपुरधाम अयोध्याबीचको प्राचीन सम्बन्धलाई थप सुदृढ बनाउनु पर्नेमा जोड दिएका छन्।
बिहिबार जनकपुर बिमानस्थलमा संचारकर्मीहरुसँग कुरा गर्दै पूर्व उपप्रधानम एवं गृहमन्त्री समेत रहेका कांग्रेस नेता निधिले त्यसका लागि सरकारको ध्यानाकर्षण समेत गराएका छन्।
जनकपुर-अयोध्या हवाई सेवा शुरु गर्नका लागि सरकारले अनुमति दिएमा सातामा तीन उडान भर्न आफूहरु तयार भएको जानकारी बुद्ध एयरका अधिकारीहरुबाट आफूले पाएको भन्दै उनले त्यसका लागि नागरिक उड्डयन प्राधिकरणले अग्रसरता लिनुपर्नेमा जोड दिए।
निधिले नागरिक उड्डयन प्राधिकरणको अग्रसरतामा नेपाल सरकार र भारत सरकारलाई आवश्यक प्रकृया अघि बढाउन पनि आग्रह गरे। उनले यात्रुहरुको सुविधाका लागि अन्तर्राष्टिय शुल्क नलिनका लागि सरकारको ध्यानाकर्षण गराउने उनले बताए। संसदको अन्तर्राष्टिय सम्बन्ध र पर्यटन समितिका सदस्यसमेत रहेका निधिले काठमाडौं फर्केपछि आपूmले यसबारेमा समितिमार्फत सरकार र प्राधिकरणका अधिकारीहरुसँग आवश्यक कुराकानी गर्ने पनि जानकारी दिए। त्यसका लागि जनकपुवासीलाई पनि आफ्नो ठाउँबाट पहल गर्न निधिले आह्वान गरे।
निधिले जनकपुर-कैशालबीच प्राचीन समयमा सिता र शतिको सम्बन्ध रहेको उल्लेख गर्दै त्यो पुरानो सम्बन्धलाई पुनप्र्रारम्भ गर्नुपर्ने बताए। दुई साताअधि कैलाश र मानसरोवरको दर्शन गरेर फर्केका निधिले कैलाशको दर्शनका लागि चीन र तिब्बत गइरहनु नपर्ने भन्दै नेपालकै हुम्ला जिल्लाको लाप्चामा पुगेर कैलाश र मानसरोवरको दर्शन गर्न सकिने उल्लेख गरे। जनकपुर कैलाशलाई जोड्नका लागि आफूले पहल गर्ने पनि निधिले उल्लेख गरे।