उदयपुर प्रहरीले सामाजिक सञ्जालमा चिठ्ठा परेको भन्दै ठगी गर्ने तीन जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले आइतबार पत्रकार सम्मेलन गर्दै विभिन्न प्रलोभन देखाई सामाजिक संजालमा ठगि गरेको आरोपमा कटारी ३ का उज्जवल थापा मगर, चितवन रत्ननगर २ का सुशिल श्रेष्ठ र कटारी नगरपालिका ३ का बिशाल थापा मगरलाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको हो।
पक्राउ परेका व्यक्तिहरुको समूहले त्रियुगानगरपालिका ३ का उदय राईलाई सामाजिक संजाल ह्वाटसएपमा २५ लाखको चिठ्ठा पर्याे भन्दै रकम प्राप्त गर्न कर तिर्नको लागि भनेर २२ लाख २० हजार ठगि गरेको जिल्लाप्रहरी कार्यालयले जनाएको छ। ठगी गर्ने समूहले विभिन्न व्यक्तिको बारेमा अध्ययन गर्ने, सामाजिक संजालमा विभिन्न प्रलोभन सहितको लिंक पठाउने, चिठ्ठा परेको भनेर कल गर्ने र चिठ्ठा वापतको रकम प्राप्त गर्ने कर वापतको पैसा ई सेवा, आइएमी पे, कनेक्ट आईपिएस लगाएतबाट पैसा पठाउन लगाएर ठगि गर्ने गरेको उदयपुरका प्रहरी प्रमुख ज्ञानेन्द्र प्रसाद फुयालले बताए।
प्रहरीका अनुसार ठगि गर्ने समूहले विभिन्न जिल्लाबाट पैसा प्राप्त गरेको रेकर्ड फेला परेकाले ठगिमा पर्नेको संख्या धेरै हुन सक्ने जनाएको छ।
पक्राउ परेका तिनजनालाई नै जिल्ला अदालतबाट मुलुकी अपराध संहिता २०७४ को ठगी, अपराधिक विश्वासघात तथा आपराधिकलाभ सम्बन्धि कसुरमा ६ दिनको म्याद थप गरि अनुसन्धान सुरु गरेको बताएको छ।