समसामयिक महत्वपूर्ण तीन सन्देशहरू विश्वको सर्वोच्च शिखर सगरमाथा मार्फत विश्वभर प्रवाह गर्ने डाक्टर प्रीति भुसालको अभियान सफल भएको छ । भुसाल सहितको टोलीले बिहीवार (वैशाख २९) बिहान सगरमाथाको सफल आरोहण गरेको हो ।
कोभिड—१९ को लडाई विरुद्ध अग्रपङ्तिमा रहने चिकित्सक, फर्मासिष्ट, नर्स, अस्पताल प्रशासनका कर्मचारी, सरसफाइमा खटिने मजदुर, एम्बुलेन्स चालक, सामाजिक कार्यकर्ताहरू लगायतको योगदानको उच्च सम्मान गर्न आफूले सगरमाथा आरोहण गरेको उनी बताउँछिन् ।
त्यस्तै प्रकृतिमा जलवायु परिवर्तनको असर कम गर्नुको विकल्प नरहेको सन्देश दिनु पनि आफ्नो सगरमाथा आरोहणको आफ्नो दोस्रोे लक्ष्य रहेको उनले बताएकी छन् ।
हिमालय क्षेत्रमा बढ्दो प्रदुषण रोकौं भन्ने सन्देश विश्वभर छर्नका लागि एक जिम्मेवारी पर्वतारोहीको रूपमा पनि आफूले सगरमाथा आरोहण गरेको भुसाल बताउँछिन् । भुसालको आरोहणको व्यवस्थापन हिमालयन सेपर्ड टिमले गरेको थियो । अर्घाखाँची स्थायी घर भएकी भुसाल हाल मेडिकल अफिसरको रुपमा ग्रयाण्डी अन्तर्राष्ट्रिय अस्पतालमा कार्यरत छिन् ।
भुसालको जन्म वि सं २०४५ साल पुष २५ गते राजधानीको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भएको थियो । अर्घाखाँची जिल्ला, अर्घा, ओडारपानीका स्वर्गीय मित्रलाल भुसालका छोरा बिष्णु भुसाल र छत्रदेव गाउँ पालिका ३, सानीपोखरीका स्वर्गीय कृष्णप्रसाद खनालकी जेठी छोरी राधा भुसालकी छोरी प्रीतिले कक्षा १ देखि ५ सम्म अर्घाखाँची उच्च माध्यमिक विद्यालय, सन्धिखर्कमा अध्ययन गरिन् ।
कक्षा ६ बाट उनले फेरि ललितपुर हात्तिवनस्थित लिटिल एन्जल्स् स्कुलमा पढ्न थालिन् । भुसालले लिटिल एन्जल्स्बाटै एसएलसी र प्लस टु उत्तिर्ण गरेपछि ढाका विश्वविद्यालबाट एमबीबीएस उत्तिर्ण गरेकी हुन् ।