कीर्तिपुर नगरवासीले निः शुल्क रगत पाउने भएका छन् । यसका लागि कीर्तिपुर नगरपालिका र नेपाल रेडक्रस सोसाइटीका बीच मंगलबार सम्झौता भएको छ । अब नगरवासीले रगत परीक्षण तथा रक्तथैलीका लागि पनि कुनै शुल्क तिर्न पर्ने छैन ।
नगरपालिकाको स्थायी बासिन्दा भएको प्रमाणित सरकारी कागजात (नागरिकता, मतदाता परिचय–पत्र ई) को प्रतिलिपिका आधारमा निःशुल्क रगतको सेवा उपलव्ध गराइने व्यवस्था गरिएको छ । काठमाडाँै उपत्यकामा स्थानीयवासीलाई निःशुल्क रगत उपलब्ध गराउने कीर्तिपुर पहिलो पालिका भएको छ ।
यही मङ्सिर ७ गतेदेखि लागूहुने गरी नगरप्रमुख रमेश महर्जन र नेरेसोका अध्यक्ष नेत्रप्रसाद तिम्सिना बीच सो सम्झौतापत्रमा हस्ताक्षर समेत भएको छ । सम्झौतापत्रमा नगरपालिकाको तर्फबाट उपप्रमुख सरस्वती रिजाल खड्का र प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा तथा सोसाइटीका तर्फबाट कार्यकारी निर्देशक उमेश ढकाल र केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक दिव्यराज पौडेलले पनि हस्ताक्षर गरेका थिए ।
प्रमुख प्रशासकीय अधिकृत सापकोटाले नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउने र नगरपालिकाबाट केन्द्रीय रक्तसञ्चार सेवामा रगत सङ्कलन कार्यमा सहयोग गर्ने ध्येयले सम्झौता गरिएकोे जानकारी दिए ।