जाडो बढ्दै गएपछि मनाङका बाढीपहिरा पीडित जोखिमयुक्त घरमा फर्किन बाध्य भएका छन् । चार महिनादेखि त्रिपालमा बसेका बाढीपीडित जाडो बढेपछि त्यसबाट सुरक्षित हुन जोखिमयुक्त घरमै भएपनि फर्किन थालेका हुन् ।
मस्र्याङ्दी नदीमा आएको बाढीको डुबान र पहिराले नासों गाउँपालिकामा मात्रै ८२ घरधुरीमा क्षति पुगेको थियो । त्यहाँका १५ घर अझै उच्च जोखिममा छन् । अविरल वर्षासँगै जेठ ३१ गते राति मस्र्याङ्दी नदी बढ्न थालेपछि नासों गाउँपालिका–१ तालगाउँ बाढीपीडित गाउँतर्फ नै फर्किएर चिसोबाट जोगिने ओत खोज्न थालेका छन् ।
राति आएको बाढीमा ज्यान जोगाउनेमध्येका एक हुनुहुन्छ रामचन्द्र गुरुङ । उनले भने, “दुईतले घरको भुइँमा झर्दा पानी घुँडासम्म आइसकेको थियो । हारगुहार गर्दै तालडाँडासम्म पुगेर ज्यान बचाइयो । बिहान नहुँदै मेरो घर नभई तालगाउँ नदीको डुबानमा परेका थियो । चार महिना हुँदासम्म पनि सुरक्षित व्यवस्थापन हुन नसक्दा डुबानमा परेको घरमा जाडोबाट जोगिन ओत यही घरमा लाग्न बाध्य भएका छौँ ।”
पछिल्लो समय सङ्घसंस्थाको सहयोगमा आएको त्रिपालमा बस्दै आएका ताल गाउँवासी बाढीले आधा भत्काएको घरमा फर्किएका छन् । “कोठामा ढुङ्गा, मुढा र बालुवा पसेका छन् । दुईतले घरको तल बस्नै मिल्दैन । माथिको तला सरसफाइ गरेर, बार बेरेर बसेका छौँ,” रामचन्द्रले भन्नुभयो । उहाँका भिनाज्यू चन्द्र सिंह गुरुङको परिवार पनि उनीसँगै बस्दै आएको छ ।
“भेनाको सबै घर डुबेकाले बस्ने नमिल्ने भएको छ,” उनले भने, “धेरैजसो बाढीपीडित घरपरिवार संयुक्त रुपमा मिलेर बस्न थालेका छौँ ।” उहाँजस्तै नगेन्द्र गुरुङको परिवार पनि त्रिपालबाट भत्किएकै घर सामान्य मर्मत गरी बस्न थालेकाे छ । “भुइँतलाको घर चार कोठाको थियो । फ्रेस हाउस र खोर पनि डुबायो,” नगेन्द्रले भने, “एउटा कोठा काम लाग्दैन ।
चारवटा सबै पुरिएको छ । अरू कोठामा पसेको लेदो, गिट्टी, बालुवा फालेर बस्न थाल्यौँ ।” उनका अनुसार चारजनाको परिवार करिब चार महिना डाँडामा त्रिपालमा बसेर बितायौं । जाडो छल्न बाध्य भएर अहिले घरमा फर्किएका छौं । जाडो बढेपछि त्रिपालले चिसो छल्न मुस्किल भएकाले बगरकै जोखिमयुक्त घरमा फर्किनुपरेको उनको भनाइ छ ।रासस