मुगुमा हिजो भएको बस दुर्घटनाको छानबिन गर्न समिति गठन गरिएको छ । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्रवीर विश्वकर्माको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको हो ।
समितिमा प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछाने र ट्राफिक प्रहरी कार्यालय मुगुका हवल्दार सदस्य छन् । समितिले बस दुर्घटनाको छानबिन गरी प्रदेश प्रहरी प्रमुखलाई प्रतिवेदन बुझाउने छ ।
नेपालगञ्जबाट मुगु आउँदै गरेको छायाँनाथ रारा यातायात प्रालिको भे१ख ३१६७ नंको यात्रुवाहक बसको टायर पञ्चर भई दुर्घटना भएको खुलेको छ । मङ्गलबार भएको सो दुर्घटनामा परी ३२ जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।