आज विश्वकर्माको पूजाआराधना गरिँदैछ । प्रत्येक वर्षको असोज सङ्क्रान्तिका दिन यो पर्व मनाउने परम्परा छ । पर्वका अवसरमा मेसिरेनरी पार्ट्सका औद्योगिक तथा व्यापारिक प्रतिष्ठानमा विश्वकर्मा पूजनोत्सव विशेष समारोहबीच धार्मिक विधिबाट गरिँदैछ ।
पर्वका अवसरमा ज्यावलबाट सामान उत्पादन गरिने स–साना उद्योग, अन्नपात कुटान/पिसान र पेलान गर्ने मिल, यातायातका साधन तथा धातुबाट बनेका स–साना ज्यावललाई पनि धोइपखाली पूजा गर्ने परम्परा छ ।
झट्ट हेर्दा ब्रह्माकै आकृति देखिने विश्वकर्माले आफ्ना चार हातमध्ये दुई हातमा तार, डोरी र फलामे ज्यावल हातमा लिएको प्रतिमामा देखिन्छ । धेरैजसो ठाउँमा विश्वकर्मा पूजा पर्वका अवसरमा धार्मिक मेला आयोजना गरिएका छन् ।
सृष्टिकर्ता ब्रह्माका पुत्र मानिने विश्वकर्माको पूजाआराधनाले ज्यावलमा खिया नलाग्ने, टिकाउ हुने र सधैँ शुभ फल दिने विश्वास गरिन्छ । विश्वकर्मा राजा इन्द्रको सभाका विशिष्ट शिल्पकार मानिन्छन् ।