संखुवासभा सामूहिक हत्याकाण्डका आरोपी २६ वर्षीय लोकबहादुर कार्कीलाई प्रहरीले सार्वजनिक गरेको छ । संखुवासभास्थित चैनपुर इलाका प्रहरी कार्यालयले आइतबार पत्रकार सम्मेलन गरी कार्कीलाई सार्वजनिक गरेको हो ।
प्रहरीका अनुसार कार्कीले मादी नगरपालिका–१ खोलागाउँमा एकै परिवारका ६ जनाको हत्या गरेका थिए ।
व्यक्तिगत रिसइवीका कारण लोकबहादुरले गत सोमबार बिहानै ६ आफ्ना बडाबाबु ५८ वर्षीय तेजबहादुर कार्की, उनकी ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, ३२ वर्षीया बुहारी रञ्जना कार्की, तेजबहादुरका ११ वर्षीय नाति दीपेन कार्की र सात वर्षीया नातिनी गोमा कार्कीको हत्या गरेको स्वीकार गरेका छन्।
सुरुमा बडाबाबु तेजबहादुरलाई दाउरा प्रहार गरी हत्या गरेको र त्यसपछि अरुलाई पनि लखेटी लखेटी हत्या गरेको उनले बयान दिएका छन् ।
थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय संखुवासभा, संघीय प्रहरी कार्यालय धरानबाट डग सहित, प्रदेश प्रहरी कार्यालय विराटनगर र केन्द्रीय अनुसन्धान व्यूरो समेतबाट प्रहरी टोली परिचालित भई घटनाको विश्लेषण तथा अनुसन्धानको क्रममा तेजबहादुरले आफूलाई पटक पटक पागल र काम गर्न नसक्ने भनेको रिसको झोकमा दाउराको चिर्पटले टाउकोमा प्रहार गरी हत्या गरेको, तेजबहादुरले हारगुहार गरेको सुनेर श्रीमती कमला र बुहारी रन्जना घटनास्थलतर्फ आएपछि उनीहरूलाई पनि चिर्पट प्रहार गरी हत्या गरेको, दिपेन र गोमालाई लखेटेर हत्या गरेको र घरमा गई पार्वतालाई भित्तामा टाउको ठोक्काई हत्या गरी आफ्नो घर फर्किएर घटनामा प्रयोग गरेको चिर्पट अगेनामा बालेर नष्ट गरेको अनुसन्धानबाट खुल्न आएको ईलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ ।
उनकाे घर तलासी गर्दा प्रहरीले रगत लतपत कपडा फेला पारेको थियो । उनै व्यक्ति विभिन्न संचार माध्यमलाई प्रत्यक्षदर्शी जसरी अन्तर्वार्ता दिँदै हिडेका थिए ।पक्राउ परेका कार्कीको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट थप अनुसन्धान भईरहेको छ ।