जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले पेस्तोल र भरुवा वन्दुकसहित पाँच जनालाई पक्राउ गरेको छ।
प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी पेस्तोल, म्याग्जिन, गोली, भरुवा बन्दुक र बारुदसहित पाँच जनालाई पक्राउ गरेको जानकारी गराएको हो। प्रहरीले कपिलवस्तु नगरपालिका ११ जहदी बाट १ जना र बाणगंगा नगरपालिका–८ मोर्मीबाट चार जनालाई हतियार सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक दान बहादुर कार्कीले बताए।
प्रहरीले हतियारसहित कपिलवस्तु नगरपालिका वडा नम्बर ११ जहदीका ३६ वर्षीय कोमन्नु भन्ने मातेश्वरप्रसाद यादवलाई पक्राउ गरेको जनाएको छ। तौलिहवा जितपुर सडकखण्डमा चेकजाँचको क्रममा भारतीय नम्बर प्लेट युपी ५५ डब्लु ८३२४ नम्बरको मोटरसाइकलमा सवार यादवले एकथान म्याग्जिन लोड गरिएको मेड ईन युएसए लेखिएको पेस्तोल बरामद गरेको हो।
यादवबाट ७६५ एमडी लेखिएको ४ राउण्ड गोली पनि बरामद गरेको छ। चोरी र हातहतियार खरखजना मुद्धामा २०७५ साल असार १६ गते पक्राउ परेका यादव २०७७ फागुन १७ गते धरौटीमा छुटे पनि अदालतमा फैसला हुन भने बाँकी छ। यस्तै बाणगंगाबाट पक्राउ पर्नेमा स्थानीय ५१ वर्षीय टिकाराम थापा, २५ वर्षीय गुमबहादुर राना, वर्ष ४७ को मिनबहादुर सेन र ४१ वर्षीय गोपाल थापा छन्। उनीहरुलाई ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको पक्राउ गरेको थियो।
प्रहरीले टिकारामको घरबाट २ थान भरुवा बन्दुक, सोही बन्दुकमा प्रयोग हुने ६० थान छर्रा र बारुद, गुम बहादुरको घरबाट १ थान भरुवा बन्दुक तथा गोपालको घरबाट १ थान भरुवा बन्दुक फेला पारी उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। पक्राउ परेका हतियार जंगली जनावर मार्न प्रयोजनका लागि प्रयोग भएको प्रहरीले बताएको छ।