कपिलवस्तुमा एक साताका लागि निषेधाज्ञा थप गरिएको छ। जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको तौलिहवामा बसेको डिसिसिएमसी र जिल्ला सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो।
सो बैठकबाट जिल्लामा जेठ १० गते राति १२ बजेसम्म जारी निषेधाज्ञालाई जेठ १७ गते सोमबार राति १२ बजेसम्म थप गरिएको प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले बताए।
खाद्यान्न, तरकारी, फलफूल पसल विहान ९ देखि दिउँसो १ बजेसम्म खुला हुने छ। सो अवधिमा अनुमति नपाएका सवारी साधन, मोटरसाइकल चलाउन पाइने छैन। निषेधाज्ञाको पालना नगर्नेलाई कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम कारवाही हुने जिल्ला प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीले बताए।
कपिलवस्तुमा पहिलो पटक बैशाख २१ गते देखि निषेधाज्ञा जारी भएको थियो। कपिलबस्तुमा सक्रिय संक्रमितको संख्या १ हजार ३ सय ७६ र मृतकको संख्या १ सय ५२ पुगेको जिल्ला स्वास्थ्य कार्यालय कपिलबस्तुले जनाएको छ।