गोरखा,मकवानपुर र मुगमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाकाे मृत्यु भएकाे छ । ती दुर्घटनामा १४ जना घाइते भएका छन् ।
गाेरखाकाे बारपाक सुलिकोट गाउँपालिका-२ राङरुङस्थित सडकमा ना.५ च ३२९८ नम्बरको बलेरो जिप शनिबार साँझ सडकबाट करिब ६ सय मिटर तल खसेर दुर्घटना हुँदा जिपमा सवार २ जनाको मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका ७ जनाकाे विभिन्न अस्पतालमा उपचार भइरहेकाे छ ।
यस्तै, मकवानपुर, भिमफेदी गाउँपालिका-१ वयलवामा ना.५ ख ८१२९ नम्बरको कन्टेनर गाडीले ना.२९ प ८९६ नम्बरको मोटरसाइकललाई गए राति ठक्कर दिँदा मोटरसाइकल चालक हेटौंडा उपमहानगरपालिका-५ सिचाई टोल बस्ने २४ वर्षीय अनिस खड्काको घटनास्थलमै मृत्यु भएको छ । साथै कन्टेनगर समेत करिब १ सय मिटर तल राप्ति खोलामा खस्दा घाइते भएका कन्टेनर साहु भिमफेदि गाउँपालिका-२ तिलटार बस्ने २८ वर्षीय सुरेस घलान र कन्टेनर चालक बारा जितपुर सिमरा उपमहानगरपालिका-२२ दुई नम्बर पुल बस्ने ३० वर्षीय मधुकर बिष्टको चुरेहिल हस्पिटलमा उपचार भइरहेको छ ।
उता,मुगुकाे सोरु गाउँपालिका-८ पातिहाल्नामा ग.३ च ११६८ नम्बरको जिप अनियन्त्रित भई दुर्घटना हुँदा जिपमा सवार सोही गाउँपालिका-७ बस्ने ३० वर्षीया गिरकला बुढाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका जिपमा सवार अन्य ६ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।