नेपाल पत्रकार महासङ्घले आगामी चैतको पहिलो साता नयाँ विधान अनुसार केन्द्र, प्रदेश र जिल्लाको नेतृत्वका लागि एकैपटक प्रत्यक्ष निर्वाचन गर्दैछ । उक्त निर्वाचनमा देशभरका सबै साधारण सदस्यले आफ्नो शाखाबाट मतदान गर्न पाउनेछन् ।
महासङ्घको उपत्यका प्रदेश कमिटीले आज आयोजना गरेको प्रथम साधारणसभाका अवसरमा केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले मुलुक सङ्घीयतामा गएसँगै आफ्नो कार्यकालमा विधान संशोधन गराई प्रदेश संरचना कार्यान्वयनमा ल्याइएको र लामो समयदेखि सङ्गठनमा उठाइएको प्रत्यक्ष निर्वाचनको मुद्धा सम्बोधन भएको बताउनुभयो । महासङ्घ केन्द्रको वार्षिक साधारणसभा भने यही फागुन ४ र ५ गते हुँदैछ ।
अध्यक्ष आचार्यले समानुपातिक विज्ञापन, सञ्चार क्षेत्रलाई सामाजिक उद्योगको मान्यता, श्रमजीवी पत्रकारको हक अधिकार थप स्थापित गर्न सफल भइएको बताए । सो अवसरमा काठमाडौँ, भक्तपुर र ललितपुरका संस्थापक शाखा सभापतिहरुलाई सम्मान गरिएको छ । कार्यक्रममा काठमाडौँ शाखाका संस्थापक सभापति किशोर नेपाल, भक्तपुरका रमेश खड्का र ललितपुरका प्रभुनारायण बस्नेतलाई सम्मान गरियो ।
महासङ्घका महासचिव रमेश विष्टले संविधानप्रदत्त प्रेस स्वतन्त्रतालाई कसैले हनन् गर्न नहुने र यसको संरक्षणका लागि महासंघ प्रतिबद्ध रहेको बताए। महासङ्घका सचिव रामप्रसाद दाहालले कोरोना महामारीका विभिन्न सञ्चार गृहमा समस्यामा पारिएका करीव ५०० श्रमजीवी पत्रकारका उजुरीका आधारमा दबाबमूलक आन्दोलन गरी समाधान गराइएको बताए । सो प्रदेश कमिटीले दिवंगत पत्रकार गोविन्द शर्मा घिमिरेका छोरी श्रेया घिमिरेलाई छात्रवृत्तिस्वरुप रु २० हजारको चेक पनि आज हस्तान्तरण गरेको छ ।
प्रदेश कमिटीका अध्यक्ष एनके दाहालले आफ्नो पहलमा ११९ जना पत्रकारको कोरोना बीमा गराइएकामा संक्रमितमध्येले बीमा रकम पाउन थालेको जानकारी दिए। महासङ्घको एशोसिएट कमिटीका अध्यक्ष केपी ढुङ्गानाले प्रदेश संरचना बनाइए पनि महासङ्घ केन्द्रले आफूहरुले साङ्गठनिक तथा आर्थिक अधिकार उपयोग गर्न नपाएको गुनासो गरे । महासङ्घको काठमाडौँ शाखाका अध्यक्ष शान्तराम विडारीले स्वरोजगारमूलक तथा साना लगानीका सञ्चारमाध्यमका हकहितका लागि आफूहरुले कार्य गर्दै आएको बताए ।