महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २५ वटा मोटरसाइकल खोजतलास गरी सम्बन्धित धनीलाई जिम्मा लगाइएको छ । ट्राफिक प्रहरीको बिशेष अपरेसन टोली परिचालन गरि चोरीमा संलग्नसहित मोटरसाईकलहरु नियन्त्रणमा लिएको हो ।
सोही क्रममा महाशाखाको सादा पोशाकको टोलीले यहि असोज ९ गते गोकर्णेश्वरबाट चोरी भएको बजाजको २२० सिसिको पल्सर मोटरसाईकल सहित नुवाकोट शिवपुरी गाँउपालीका ८ घर भएका अ. बर्ष २६ को बिष्णु मिजार लाई पक्राउ गरी आबश्यक कारबाहिको लागी महानगरीय प्रहरी बृत्त बौद्ध पठाएको छ ।
उपत्यकाका बालाजु, टोखा, सातदोबाटो, माछापोखरी, मुलपानी, तिनकुने, बलम्बु, दरबारमार्ग, बौद्ध, कालिमाटी, महाराजगंज, कलंकी लगायतका स्थानबाट फेला पारी आज २५ वटा मोटरसाईकल सम्बन्धित धनीलाई जिम्मा लगाएको छ ।सादा पोसाकमा प्रहरी परिचालन गरेर हराएका मोटरसाइकल तथा स्कुटर खोजीलाई तीव्रता दिइएको महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले बताए।
उहाँले जथाभावी मोटरसाइकल पार्किङ गर्दा चोरी हुने गरेकाले सवारी साधनमा अतिरिक्त लक प्रयोग गर्न, साईरन लगायतका उपकरण जडान गर्न समेत मोटरसाइकल चालकहरुलाई सुझाव दिए । महाशाखाले यस आ.व. ०७७÷७८ मा २३३ वटा मोटरसाइकल अनुसन्धानको लागि नियन्त्रणमा लिई सम्बन्धित धनी पत्ता लगाई १९६ वटा मोटरसाईकल जिम्मा लगाइ सकेको महाशाखाले जनाएको छ ।