बर्दिवासमा बालिकाको बलात्कारपछि हत्या गरिएको भन्दै शव सडकमा राखेर विरोध प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले गाेली चलाएकाे छ ।
प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले चलाएकाे गोली लागेर तीन जना गम्भीर घाइते भएका छन् ।घाइते हुनेमा बर्दिवासका सञ्जय न्यौपाने,श्याम कार्की र अर्काे एकजना छन् । प्रहरीले दर्जनौं राण्ड अश्रु ग्यास प्रहार र हवाई फायर गरेकाे स्थानीयले बताएका छन् ।
बर्दिवास–१४ का सहिद अन्सारीकी ६ वर्षीया छोरी गुलबसा खातुनको सोमबार राति बोरामा राखेर फालिएको शव फेला परेको थियो । उनी आइतबार साँझदेखि बेपत्ता थिइन् ।
बालिकाको हत्या गरेको आशंकामा प्रहरीले गौशाला नगरपालिका–५ का २५ वर्षीय अरुणकुमार साहलाई पक्राउ गरेको छ । साहले बालिकाको हत्या गरेको स्विकारिसकेको इलाका प्रहरी कार्यालय बर्दिवासका डीएसपी राजन चापागाईंले बताए ।
प्रदर्शनकारीले दोषीलाई तत्काल कडाभन्दा कडा कारबाही गर्नुपर्ने माग राखेका छन् । प्रदर्शनका कारण यहाँको अवस्था अहिले तनावग्रस्त बनेको छ ।अहिले सडकमा सशस्त्र, नेपाल प्रहरी र नेपाली सेना परिचालन गरिएको छ ।प्रदर्शनकारीले ढुँगामुढा गरेपछि अश्रु ग्यास प्रहार तथा हवाई फायर गर्नुपरेको प्रहरीले जनाएको छ ।