चितवन र धरानमा गरी थप ५ सङ्क्रमितको मृत्यु भएकाे छ ।धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत थप तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धरान–३ का ७२ वर्षीय, धरान–१७ का ६८ वर्षीय र इटहरी उपमहानगरका ५६ वर्षीय पुरुष छन् ।उनीहरु तीनै जनाको मृत्यु सोमबारै भए पनि प्रतिष्ठानको कोभिड अस्पतालले मंगलबार बिहान मात्र सार्वजनिक गरेको हो ।
यस्तै चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचारका क्रममा कोरोना सङ्क्रमित एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका–१० का ६७ वर्षीय वृद्ध रहेको कलेजले जनाएको छ ।
निमोनियासम्बन्धी उपचारका लागि असोज २९ गते अस्पतालमा भर्ना भएका वृद्धलाई कात्तिक ३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनको आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । कोरोना सङ्क्रमण पुष्टि भई कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।
त्यसैगरी चितवन मेडिकल कलेजमा उपचारका क्रममा कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा गैँडाकोट नगरपालिका–७ का ५० वर्षीय पुरुष रहेको कलेजले जनाएको छ ।
गत असोज १७ गते सर्पले डसेको शङ्का लागेर अस्पताल भर्ना गरिएकोमा उनको १८ असोजमा कोरोना पोजेटिभ देखिएकोे थियो । स्वासप्रस्वासको समस्या आएपछि उपचारको क्रममा आज बिहान उनको मृत्यु भएको हो ।