सरकारले सबै निजी, सामुदायिक तथा मेडिकल कलेज तथा सरकारी अस्पताललाई कुल शैयाको ५० प्रतिशत शैया कोभिडका बिरामीका लागि छुट्याउन निर्देशन दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइसियु लगायतका सबै प्रकारका पूर्वाधारहरु कोभिडका बिरामीका लागि छुट्याउन निर्देशन दिएको र यो निर्णय सरकारी अस्पतालका हकमा पनि लागू हुने मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
यसअघि निजी सहकारी र सामुदायिकमा २० प्रतिशत र मेडिकल कलेजले ३३ प्रतिशत शय्या छुट्याउनु पर्ने व्यवस्था थियो । त्यस्तै गौतमले कोभिडको रुपमा सूचीकृत अस्पतालहरुको फार्मेसीबाट रेम्डिसिभिर औषधि बिक्रि वितरण गर्ने व्यवस्था मिलाइएको बताए ।
उहाले अब अग्रपङ्तिमा खटिएकाहरूको परीक्षण र उपचार मात्रै सरकारले गर्ने निर्णय भएको जानकारी दिए। तर विपन्न वर्ग तथा अति अशक्तको कोरोना परीक्षण तथा उपचार भने सरकारले गर्ने मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले बताए ।
यसअघि सरकारले कोरोना संक्रमितको निःशुल्क परीक्षण तथा उपचार गर्दै आएको थियो । उनले नवमी,दशमी र एकादशीका दिन नयाँ कोरोना पिसिआर परीक्षण नहुने तर प्रयोगशालाले चाप अनुसार काम गर्ने, गराउने व्यवस्था मिलाउन निर्देशन दिने निर्णय भएको पनि बताए ।