पूर्व प्रहरी महानिरीक्षक अच्यूतकृष्ण खरेलले कर्तब्य पालनाका सिलसिलामा विरगति प्राप्त गर्ने प्रहरीका सन्तानलाई प्रोत्साहन गर्ने उद्धेश्यले छात्रवृत्ती प्रदान गर्ने भएका छन्।
खरेलले कर्तब्य पालनाका सिलसिलामा विरगति प्राप्त गर्ने प्रहरी जवान, प्रहरी हवलदार, प्रहरी सहायक निरीक्षक, प्रहरी नायव निरीक्षकका सन्तानमध्ये एक छोरी र एक छोरालाई जनही ३० हजारको छात्रवृत्ती दिने घोषणा गरेका हुन्।
प्रहरी प्रधान कार्यालयसँग पूर्व आईजीपी खरेलले गरेको सम्झौतामा ११ लाखको अक्षयकोष स्थापना गर्ने उल्लेख छ। प्रहरी दिवसका अबसरमा आयोजित कार्यक्रममा खरेलले यससम्बन्धी सम्झौता गरेका हुन्।
“अच्युत–मिना अमर प्रहरी पुरस्कार“ नाम दिइएको उक्त कोषका लागि पूर्व महानिरीक्षक खरेलले प्रतिवर्ष छात्रवृत्ती अन्तर्गत ६० हजार र सम्मानपत्र तयार गर्न ४ हजार गरी ६४ हजार उपलब्ध गराउने सहमती भएको छ।
साथै, उनको देहवसानपछि अच्युत–मिनाका सन्तान डा.आयुष र डा.चाँदनीले ११ लाखको अक्षयकोष स्थापना गरिदिने पनि सहमती पत्रमा सम्झौता भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
नेपाल प्रहरीसँग व्यक्तिगत सम्झौता गरी छात्रवृत्ती कोषको स्थापना गर्ने खरेल पहिलो व्यक्ति हुन्। यसअघि पनि नेपाल प्रहरीका चारै क्षेत्रीय स्कुलमा पूर्व प्रहरी महानिरीक्षक खरेलले संगठनका जवान, हवलदारका गरिव तथा जेहन्दार सन्तानलाई अक्षयकोष उपलब्ध गराएका थिए।