यसवर्षको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठलाई प्रदान गरिने भएको छ।
प्रेस काउन्सिल नेपालको ५१ औँ वार्षिकउत्सवको अवसरमा मंगलबार राष्ट्रपति कार्यालय शीतलनिवासमा वार्षिकोत्सव समारोह गरी पुरस्कार वितरण गरिने काउन्सिलले जनाएको छ। पुरस्कारको राशी रु. १ लाख ५१ हजार रहेको छ।
रु. १ लाख १० हजार राशीको प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार यसवर्ष हुम्लाका अर्जुन बोहरालाई प्रदान गरिने काउन्सिलले जनाएको छ।
५० हजार राशीको प्रेस काउन्सिल आचारसंहिता पुरस्कार सेतोपाटी डटकमलाई दिइने काउन्सिलले जानकारी दिएको छ । यसवर्षको प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कारबाट गोविन्द क्षेत्री (झापा), राजन कार्की (काठमाडौँ), धर्मेन्द्र कर्ण (धनुषा), ऋषि धमला (धादिङ), उमेश श्रेष्ठ (काठमाडौँ), दीपेन्द्र श्रेष्ठ (कास्की) र नितु पण्डित (काठमाडौँ) ले पाउने भएका छन्। क्रियाशील पत्रकारिता पुरस्कार जनही २० हजार राशीको छ।
१५ हजार राशीको प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट सटेन्द्र जबेगु (इलाम), सुरेशचन्द्र अधिकारी (चितवन), माधव पौडेल (काठमाडौँ), गणेश चौधरी (कैलाली), गिरिजा अधिकारी (मकवानपुर), राजु विक (सिरहा), कमला श्रेष्ठ (काठमाडौँ), राजन सिंह (धनुषा), देवीकुमारी गुरुङ (रोल्पा), रेणु पराजुली (उदयपुर), दीपेन्द्र वली (सुर्खेत), शेरबहादुर थापा (सुर्खेत), राधिका कँडेल (फोटो पत्रकार, कास्की) र शान्ता कमली (लमजुङ) पुरस्कृत हुने भएका छन्।
प्रेस काउन्सिल साहित्यिक पत्रकारिता पुरस्कार नव प्रज्ञापन साहित्यिक त्रैमासिक पत्रिका र प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कारबाट वाम्बुले राई भाषाका लागि ओखलढुङ्गा पत्रकार गणेश राईले पाउने भएका छन्।