नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ औपचारिक रुपमा विदा भएका छन् ।
नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियले मंगलबार घिसिङलाई विदाई गरेको हो । विदाई कार्यक्रममा बोल्दै घिसिङले प्राधिकरण सामु आगामी दिनमा बिभिन्न चुनौती हुन सक्ने संकेत गरे ।
प्राधिकरणले हाँसिल गरेको उपलव्धीलाई संस्थागत गर्नु पहिलो चुनौति हुने बताउदै उनले उत्पादित विद्युतको सही व्यवस्थापन लगायतको चुनौति आउन सक्ने बताए। आफूले जिम्मेवारी सम्हालेको पहिलो आर्थिक वर्षदेखि लगातार प्रधिकरणले नाफा कमाईरहेको उल्लेख गर्दै उनले चालु आर्थिक वर्षमा प्राधिकरणको नाफा ११ अर्ब भन्दा धेरै हुने अनुमान गरिएको बताए।
प्राधिकरणप्रति जनताको विश्वास बढेको बताउदै उनले लोडसेडिङ अन्त्य भई, चुहावट १५.२७ प्रतिशतमा झारेको, ४ वर्ष अघि ३५ प्रतिशत विद्युत भारतबाट आयात हुने गरेकोमा अब अर्को वर्षबाट आत्मनिर्भर हुने अवस्था सृजना भएको उल्लेख गरे । विद्युत आयात गरेर लोडसेडिङ अन्त्य गर्नुमात्र प्रमुख कारण नभएको बताउदै उनले त्यस विषयमा भारतसँग समेत प्राधिकरणले काम गरेको तर्क गरे । उनले विद्युत आयात र निर्यात गर्नु सजिलो काम नभएको बताउदै त्यसमा आफूहरुले धेरै मेहनत गरेको बताए ।
घिसिङले प्राधिकरणले उल्लेख्य फड्को मारेको र आफ्नो कार्यकालमा ४५७ मेगावाटका आयोजना संचालनमा आएको समेत बताए । देशमा विद्युतलाई आत्मनिर्भर, काठमाडौंलाई तार र पोल रहित बनाउने, डिजिटल प्राधिकरण बनाउने, देशभर विद्युत पुर्याउने जस्ता काम आफूले पुरा गर्न नपाएको उनले बताए । उनलाई सरकारले २०७३ साल भदौ २९ गते ४ वर्षका लागि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।