भक्तपुरको मध्यपुर थिमि नगरपालिका–६, कुन्डोलमा तीन जनाको शव भेटिएको प्रकरणमा प्रहरीले अनुसन्धान थालेको छ ।
श्रीमती र छोराको हत्यापछि ३६ वर्षीय सुदिप अधिकारीले विष सेवन गरी आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुसन्धानले देखाएको छ ।शवको प्रकृती हेर्दा सम्झना र सुशान्तको मृत्यु केही दिन पहिले नै भएको देखिन्छ । दुवै जनाको शव सडिसकेको अवस्थामा भेटिएको थियो ।
माथिल्लो तलामा मृत अवस्थामा भेटिएका सुदिपको शरीरमा भने कुनै बाहिरी चोटपटक छैन । प्रहरीले परीक्षणका लागि भान्छामा भेटिएको खानेकुरालाई पनि प्रयोगशालामा पठाएको छ ।
प्रहरीका अनुसार कुकुरको पनि विषकै कारण मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ ।पछिल्लो समय जागिर नखाएको भन्दै उनी र श्रीमतीबीच झगडा हुने गरेको आफन्तहरुले बताएका छन् । यद्यपि, यसबारे यकिन विवरण पोष्टमार्टम रिपोर्ट आएपछि मात्र प्राप्त हुनेछ ।