राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवा (रुपन्देही) मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक संरचना निर्माण लगभग सकिएको छ ।
अब विमानस्थलमा बत्ती, उपकरण जडानलगायत केही प्राविधिक काम मात्रै बाँकी छ । हालको अवधिमा विमानस्थलको ९२ प्रतिशत भौतिक प्रगति र वित्तीय प्रगति ६३ प्रतिशत छ । कोभिड–१९ महामारी नभइदिएको भए यो विमानस्थल यतिखेर व्यावसायिक सञ्चालनमा व्यस्त हुनेथियो । कोभिडले आयोजना निर्माणको प्राविधिक काममा विलम्ब भएको छ ।
अन्य भौतिक संरचनाका काम बन्दाबन्दीको अवधिमा पनि निरन्तर भए । विमानस्थलको प्राविधिक काम मात्रै बाँकी छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले प्रविाधिक काम निकै चुनौतिपूर्ण रहेको बताए । उहाँका अनुसार अधिकांश उपकरण आइसकेको भए पनि अन्तर्राष्ट्रिय उडान सहज नभएकाले विदेशबाट जनशक्ति ल्याउन चुनौति भइरहेको छ ।
विमानस्थलको टर्मिनल भवनभित्र उपकरण जडानको काम बाँकी छ । ब्यागेज ह्याण्डलिङ, यात्रु सुरक्षा परीक्षण मेसिन, एसीलगायत उपकरण जडानको प्रक्रियामा छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले विमानस्थल निर्माणको कामलाई प्रभावकारी बनाउन र व्यवस्थापकीय कार्यको सहजीकरणका लागि पटकपटक स्थलगत निरीक्षण र निर्देशन दिँदै आएका थिए ।
पछिल्लो पटक पर्यटन मन्त्रालयको वार्षिक प्रगति पुस्तिका सार्वजनिक गर्दै मन्त्री भट्टराईले विमानस्थल निर्माणको कामले तीव्रता पाएको र बाँकी प्राविधिक कामलाई पूर्णता दिन आवश्यक पहल भइरहेको जानकारी दिएका थिए । गौतमबुद्ध विमानस्थल अङ्ग्रेजी वर्ष सन् २०२१ को शुरूआतबाट मात्रै सञ्चालनमा आउने नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
यो विमानस्थल रुग्ण अवस्थामा पुगेर चाँडो प्रगति हासिल गरेको आयोजना हो । सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्नेगरी सन् २०१५ को शुरूमा थालनी भएको विमानस्थलको काम बीचमा ठेकेदार कम्पनीको लापरवाहीले अवरोध भएको थियो । पछि थपिएको दुई वर्षको अवधिमा आयोजनाको काम उल्लेख्यरूपमा प्रगति भयो । पछिल्लो पटक सन् २०२० को मार्च महिनासम्मका लागि विमानस्थलको निर्माण अवधि थपिएको थियो ।
प्राविधिक कारण ढिलाइ हुने खतरामा रहेको उक्त आयोजनालाई कोरोनाको सन्त्रासले थप विलम्ब हुने भएको हो । विमानस्थल चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएसन कन्स्ट्रक्सन ग्रुपले निर्माण गरिरहेको छ । एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भइरहेको यो आयोजनाका लागि दुवै चरणमा गरी रु सात अर्ब ३२ करोड हाराहारी खर्च हुने प्राधिकरणले जनाएको छ ।