कोरोना रोकथामका लागि जारी निषेधाज्ञाको समयमा पनि नेपालको सडक पूर्वाधारमा पहिलो सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला निर्माणको काम अघि बढिरहेको छ । निर्माणस्थलमा ‘क्लोज क्याम्प’ भित्र बसेर निर्माणको काम भइहेको छ ।
गत वर्ष निर्माण शुरु गरेको जापानी निर्माण संस्था हाजमा आङदो कर्पोरेशनले अहिले पनि भएका जनशक्तिमार्फत काम गरिरहेको छ । निर्माणस्थलमा अहिले झण्डै दुई सय कामदार कार्यरत छन् । काम अघि बढाउन जनशक्तिको अभाव नरहेको सडक विभागले जनाएको छ । बन्दाबन्दी पहिले नै कम्पनीले आवश्यक जनशक्ति र उपकरणको व्यवस्थापन गरिसकेको थियो ।
निर्माण शुरु भएको १० महिना हुँदा अहिलेसम्मको भौतिक प्रगति झण्डै चार प्रतिशत रहेको छ । अहिलेसम्म भौतिक प्रगति सातदेखि आठ प्रतिशत हुने लक्ष्य लिइएको थियो । निर्माणको काम अवरुद्ध नै नभए पनि कतिपय समस्या आइरहेकाले लक्ष्यभन्दा कम प्रगति भएको बताइएको छ । केही समय पहिलेसम्म निर्माण सामग्रीको अभाव रहेको थियो । धादिङकै कतिपय स्थानीय तहले गिट्टी, बालुवालगायतका निर्माण सामग्रीको ढुवानी गर्न दिएका थिएनन् ।
अहिले स्थानीय तहसँगको समन्वयमा त्यसको समाधान खोजिएको सडक विभाग, विकास सहायता समन्वय महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाले बताए। उनले भने, “केहीले अवरोध गर्न खोजे पनि सम्झाएर, बुझाएर अहिले निर्माण सामग्री ल्याउने वातावरण बनाइएको छ ।” सुरुङमा अहिले काठमाडौँतर्फ काम गर्न नसकिए पनि धादिङतर्फ ‘क्लोज क्याम्प’ मा काम भइरहेको छ । सिस्नेखोला ‘डाइभर्ट’ गर्ने काम भइरहेको प्रमुख थापाले बताए ।
त्यससँगै जग्गा सम्याउने र सुरुङको मुखमा निर्माणको काम भइरहेको छ । सरकारले गर्नुपर्ने जग्गा अधिग्रहणको काम अघि बढिरहेको उनले जानकारी दिए । बलम्बुमा फ्लाइओभर निर्माणका लागि जग्गा मुआब्जाको प्रक्रिया बन्दाबन्दी पहिले नै अघि बढेको थियो । धादिङमा भने जग्गा अधिग्रहणको काम कम मात्रै रहेको छ । निर्माणस्थलमा रहेका धेरै जग्गा अधिग्रहण गरिएको छ भने समस्या भएका केही व्यक्तिको मात्रै अधिग्रहण बाँकी छ । उनले भने, “जग्गा रोक्का भएका व्यक्तिको मात्रै जग्गाको मुआब्जा दिन बाँकी छ ।”
निर्माण कम्पनीको सडक विभागसँग ४२ महिनामा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । अहिले योजना गरिएभन्दा थोरै ढिलो भए पनि त्यसले समग्रमा असर नगर्ने प्रमुख थापाले बताए । निर्माण कम्पनीले बाँकी समयमा काम सञ्चालन गर्न सके समयमै सकिने बताउँदै आएका छन् । जापान सरकारको ‘सफ्ट लोन’ मा ४२ महिनामा सो सुरुङको निर्माण गर्ने गरी नेपाल सरकार र जापानी निर्माण संस्था हाजमा आङदो कर्पोरेशनबीच गत वर्ष असोजमा सम्झौता भएको थियो । सुरुङमार्ग सञ्चालनमा आएसँगै नागढुङ्गा–नौबिसे सडकखण्डमा दैनिकरूपमा हुने जाम हट्ने अपेक्षा गरिएको छ । रासस