एक हप्तामा पूर्वी–नाका साँगाबाट काठमाडौँ उपत्यका प्रवेश गर्ने यात्रुमध्ये १३ जनामा कोरोना सङ्क्रमण पोजिटिभ देखिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रको चिकित्सा प्रयोगशाला विज्ञ टोलीले उपत्यका प्रवेश नाकामा सवारी साधनका यात्रुमा गरिएको कोरोना सङ्क्रमण परीक्षणमा उक्त सङ्ख्यामा कोरोना पोजिटिभ देखिएको हो ।
लकडाउनको अन्त्यपछि टोलीले उपत्यका प्रवेश गर्ने तीन नाका काभ्रेपलाञ्चोकको साँगासँगै, ललितपुरको फर्पिङ र काठमाडाँैको थानकोटबाट काठमाडौँ प्रवेश गर्ने यात्रुको कोरोना सङ्क्रमण नमूना परीक्षण गर्न स्वाब सङ्कलन गरेको थियो ।
साँगा–नाकामा मात्रै सङ्कलित तीन हजार ४८२ यात्रुको स्वाब सङ्कलन गरिएकामध्ये १३ मा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार तीन नाकाबाट करीब दश हजार यात्रुको स्वाब सङ्कलन गरिएको थियो ।
यात्रुको पोलिमरेज चेन्ज रियाक्सन (पिसिआर) परीक्षण गर्दाको रिपोर्ट पोजिटिभ आएका हो । तीन नाकामा सङ्कलित स्वाबको वीर अस्पताल, शिक्षण अस्पताल तथा टेकु अस्पतालमा परीक्षण गरिएको टोलीका सदस्य खेमराज सापकोटाले बताए ।