सङ्खुवासभाका चार हिमताल जोखिममा रहेका छन् । सङ्खुवासभाका १०४ हिमतालमध्ये लोवर वरुण हिमतालसहित चारवटा हिमताल जोखिममा रहेको अन्र्तराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले जनाएको छ ।
इसिमोडका डा अरुणबहादुर श्रेष्ठका अनुसार मकालु बेसक्याम्पभन्दा तल रहेको लोवर बरुण हिमताल र भोटखोला गाउँपालिकास्थित हिमताल उच्च जोखिममा रहेको छ । सङ्खुवासभाका चार र तिब्बतका १७ वटा हिमताल फुट्ने जोखिममा रहेको बताइएको छ । तिब्बतमा रहेका १७ वटा हिमतालको पानी अरुण नदी हुँदै नेपालतर्फ आउने गरेको उनले बताए ।
कूल १.९ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको लोवर बरुण हिमतालको लम्बाइ २.७ किलोमिटर र चैडाइ ६०० मिटर रहेको छ । नेपालमा पाँच हजार ३५३ तालमध्ये २० हिमताल फुट्ने जोखिममा रहेको उल्लेख गर्दै उनले हिमालमा नयाँ ताल बन्ने र विलिन हुने प्रक्रियाका कारण तल्लो बस्ती जोखिममा रहेको बताए । जलवायु परिवर्तन हिमाल र तालको संरक्षणमा चुनौतीपूर्ण देखिएको बताउँदै उनले त्यसको समाधानका लागि सामूहिक प्रयासमा जोड दिए ।
तत्काल वरुण नदीको बहाव पुरानै बाटो फर्काए लोवर वरुण हिमताल फुट्नबाट जोगाउन सकिने भएका कारण सबैले यसमा पहल गर्नुपर्ने जिल्ला समन्वय समिति प्रमुख सुमन शाक्यले बताए।
उहाँले निकट भविष्यमै सरोकारवाला सङ्घसंस्थासँग समन्वय गरी छिट्टै नै हिमतालले भविष्यमा पु¥याउन सक्ने जोखिमका लागि व्यवस्थापन तथा न्यूनीकरण गर्न पहल कदमी चाल्न जिल्ला समन्वय समिति सधैँ अग्रपङ्क्तिमा रहने प्रतिवद्धता व्यक्त गरे ।रासस