स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले अत्यावश्यक काम बाहेक सार्वजनिक यातायातमा यात्रा नगर्न आग्रह गरेकाे छ ।
मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले भिडभाड हुने गरी सार्वजनिक यातायातमा यात्रा नगर्न आग्रह गर्दै यात्रा गर्नै परे हरेक यात्रुले एक अर्काबीचमा तोकिएको भौतिक दुरी कायम गर्न र मास्कको अनिवार्य रुपमा प्रयोग गर्नुपर्ने बताए।
साथै उनले संक्रमण भएको शंका लागेमा तथा त्यससँग मिल्दोजुल्दो लक्षण भएको अवस्थामा सार्वजनिक यातायात प्रयोग नगर्न पनि आग्रह गरे।
सरकारले सार्वजनिक यातायात चलाउन दिने निर्णय गरेसँगै अहिले यातायात व्यवसायीले विस्तारै सवारी साधन चलाउन थालेका छन् ।
लामाे समयसम्म सार्वजनिक यातायात नचल्दा यात्रुहरूले दुःख झेल्न बाध्य भएका थिए ।