नेपालमा गत चैत महिनासम्म फाट्फुट् रुपमा देखिएको कोरोना संक्रमण अहिले डर लाग्दो रुपमा बढ्दै गएको छ ।
अहिले देशका सबै जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ । अब कोरोनाले नभेटेको कुनै पनि जिल्ला बाँकी छैन ।
हिमालदेखि पहाडका सबै ठाउँमा कोरोना संक्रमित भेटिन थालेको छ ।
पछिल्लो समय काठमाडौं उपत्यकामानै संक्रमितको संख्या बढ्न थालेपछि सरकारले फेरि लकडाउनलाई कडाई गर्ने तयारी गरेको छ । लकडाउन कडाई हुँदासम्म काठमाडौंमा खासै संक्रमित भेटिएका थिएनन् ।
सरकारले असार १ गतेपछि लकडाउनको मोडालिटीमा केही परिवर्तन गर्दै खुकुलो पारेपछि तराई पुगेका मानिसहरु पनि धमाधम काठमाडौं फर्कन थाले । उनीहरुबाट नै काठमाडौं उपत्यकामा संक्रमण फैलिएको आशंका गरिएको छ ।
जतिपनि संक्रमित भेटिएका छन् उनीहरुको कतै न कतै भारतबाट फर्किएकाहरुसँग सम्पर्क भएको देखिएको छ ।
सार्वजनिक यातायात बन्द गरेर निजी सवारी साधानमा जोर बिजोर प्रणाली लागू गरे पनि सडकमा भिडभाड र जाम हुने गरेको छ ।
लकडाउन जारी छ तर अधिकाशं सरकारी कार्यालय खोलिएको अवस्था छ ।यसले गर्दा पनि मानिसहरु कर तिर्ने लगायतका कामका लागि हिड्न बाध्यछन् ।
अब सरकारले पहिले जस्तै पूर्ण रुपमा लकडाउन नगरे स्थितिलाई नियन्त्रणमा लिन मुस्किल पर्छ ।
अहिले उपत्यकाकै ७१ ठाउँमा संक्रमित भेटिएका छन् । मानिसहरुको जथाभावी भिडभाड र हेचक्रयाइले डरलाग्दो अवस्था आउँन सक्ने चिकित्सकहरुले चेतावनी दिएका छन् ।
अहिले काठमाडौंको सडक चोकमा देखिएको भिडभाड हेर्दा कोरोना मुक्त भईसकेको हो र ? भन्ने पनि लाग्न सक्दछ । मानिसहरुलाई संक्रमित भईएला भन्ने कुनै डरत्रास देखिदैन ।
नेपालमा सुरुवातमा हवाई मार्गहुँदै कोरोना भित्रिएको थियो ।जब सरकारले सबै उडानमाथि प्रतिबन्ध लगायो त्यसपछि कारोना संक्रमितको सख्या पनि केही समयसम्म स्थिर नै रहयो ।
छिमेकी मुलुक भारतमा रोजगारीका लागि पुगेका नेपालीहरु धमाधम फर्कन थालेपछि भने संक्रमितको संख्या ह्वात्तै बढ्न थालेको हो ।
पछिल्ला तीन दिनमा भेटिएका संक्रमितको ठेगाना विश्लेषण गर्ने हो भने टोलटोलमा कोरोना संक्रमण फैलिएको देखिन्छ । उपत्यकाकाका १२ ठाउँका स्थानीयमा त ट्राभल हिस्ट्री नै नभएकाहरु संक्रमित भएका हुन् ।
धेरै जनघनत्व भएको काठमाडौं उपत्यकामा यही अनुपातमा संक्रमितको संख्या बढ्ने हो भन उपचारकै अभावमा धेरैले ज्यान गुमाउनु पर्ने अवस्था आउन सक्छ ।
यहाँ कतै पनि पर्याप्त उपचारको तयारी छैन। कोरोना संक्रमित मध्ये १० देखि १५ प्रतिशतलाई अस्पताल राख्नुपर्ने हुन्छ ।
सरुवा रोग बिशेषज्ञ डा अनुप बास्तोलाका अनुसार कोरोना संक्रमणले मुख्यगरी बिरामीको फोक्सोमा आक्रमण गर्छ र निमोनिया हुन्छ । यस्तो अवस्थामा अक्सिजन नपुगेर बिरामी गम्भीर अवस्थामा पुग्न सक्छन् । त्यसैले कृतिम स्वासप्रश्वासका लागि भेन्टिलेटरको आवश्यकता पर्छ ।