पूर्व सभामुख एवं नेपाली कांग्रेसका पूर्व महामन्त्री तारानाथ रानाभाटलाई मातृशोक परेको छ।
रानाभाटकी आमा खिमकुमारी रानाभाटको मंगलबार बिहान पोखरा २६ स्थित आफ्नै निवासमा सय वर्षको उमेरमा निधन भएको हो। रानाभाटका पिता नारायणदत्त प्रजातन्त्र सेनानी हुन् ।
खिमकुमारी लामो समयदेखि बिरामी भएकै कारण पूर्व सभामुख रानाभाट घरमै आमाको सुसारमा खटिएका थिए। खिमकुमारीको जन्म विसं १९७७ असोज महिना विजयादशमीका दिन भएको हो। पञ्चायतकालको विरोधमा नारायणदत्त उत्रेपछि तत्कालीन सरकारले उनको परिवारको सर्वस्वहरण गरेको थियो। रानाभाट परिवारले त्यतिबेलै कठोर यातनासमेत खप्नु परेको थियो।
खिमकुमारीका तारानाथ, खिलेन्द्र, देवेन्द्र र सुरेन्द्र गरी ४ छोरा र खिमादेवी शोभा कुमारी गरी २ छोरी छन्।
खिमकुमारीको आजै दिउँसो २ बजेपछि निवासबाट शवयात्रासहित रामघाटमा अन्त्येष्टि गरिने छ।